बासुदेव गिरी
प्यूठान, १० असार । झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँ सभाले विभिन्न प्राथमिकताका कार्यक्रमहरु तय गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो ।
कुन कुन कार्यक्रम परे प्राथमिकतामा ?
नीति तथा कार्यक्रम तय गर्नका लागि विभिन्न आधारलाई लिइएको छ । आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने, आम्दानी र रोजगारी वृद्धि हुने, लागत सहभागिता जुट्ने, स्थानीय स्रोत साधन र सीपको प्रयोग हुने, समावेसी विकासमा योगदान पुग्ने, दिगो विकास तथा वातावरणीय संरक्षणमा योगदान पुर्याउने, राजस्व परिचालनमा योगदान पुर्याउने ,सामाजिक न्याय, लैंगिक समानता तथा सशक्तिकरणलाई योगदान पुर्याउने आयोजना तथा कार्यक्रमहरु तर्जुमा गरिने उल्लेख छ । पारित भएको नीति तथा कार्यक्रम अनुसार बजेट तर्जुमा हुनेछ ।
बेरोजगारीलाई रोजगारी
नीति तथा कार्यक्रमले विशेष गरि कोरोना संक्रमणले विदेशबाट नेपालीहरु गाउँ फर्किरहेको भन्दै उनीहरु संलग्न हुने खालका योजना अघि बढाउने नीति लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘बेरोजगारीलाई रोजगारी दिने मुख्य नीति अवलम्वन गरिनेछ ।’ त्यसका लागि नीजि क्षेत्र, गैसस क्षेत्रसँग समन्वय र साझेदारी गर्ने, सीप तथा तालिमको व्यवस्था गर्ने उल्लेख छ ।
जनतासँग अध्यक्ष कार्यक्रम
कृषि र पूर्वाधारको क्षेत्रमा कार्यक्रम सन्चालन गर्न जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालनका लागि आवश्यक वजेटको व्यवस्था मिलाईने जसलाई आवश्यक कार्यविधि वनाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी पशुपालन व्यवसायलाई व्यावसायीकरण गर्न प्रोत्साहन गरिने नीति पालिकाले लिएको छ । जसका लागि घाँस खेती गर्न जग्गा नहुने किसानलाई व्यक्तिगत, कवुलियती र सामुदायिक वनसँग साझेदारी गराउन पहल गरिने उल्लेख छ । कृषि क्षेत्रलाई विकास गर्न बाँझो जग्गामा खेति गर्न प्रोत्साहित गर्ने नीति पालिकाले लिएको छ ।
झिमरुक गाउँपालिकाको स्वामित्वमा हुने गरी अवश्यक जग्गा भाडामा लिई वहु(उदेश्यीय ईको सिस्टमवाट कृषि फर्म संचालन गरी कृषकहरुलाई तालिम समेत दिने गरी आवश्यक व्यवस्थालार्इ निरन्तता दिने नीति पालिकाले लिएको छ ।
उपभोक्ता समितिलाई पुरस्कार र दण्डको नीति
गाउँसभाले समयमै काम सम्पन्न गर्ने उपभोक्ता समितिलाई पुरस्कृत र काममा लापरवाही गर्ने उपभोक्ता समितिलाई दण्डित गर्ने नीित अवलम्वन गर्ने जनाएको छ । कार्यसम्पादनका आधारमा वडा कार्यालयलाई प्रोत्साहनको व्यवस्था गरिने उल्लेख छ ।
प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन
विश्वभरि फैलिएको कोभिड(१९ , वर्षादको समयमा हुने बाढिपहिरो, हावाहुरी, असिना, आगोलागी जस्ता आकस्मिक रुपमा हुने प्रकोप तथा विपद्लाइ व्यवस्थापन गर्न आवश्यक पहल गरिने नीति पालिकाले लिएको छ ।
१५ शैयाको अस्पताल स्थापनाको पहल
निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि १५ शैयाको अस्पताल स्थापनाको पहल अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । चालु आर्थिक वर्षमा सञ्चालन गरिएको जेष्ठ नागरिकको निःशुल्क आँखा जाँचलाई निरन्तरता दिने जनाएको छ । ओखरकोट स्वास्थ्य चौकीमा जेन एक्सपर्ट मेसिन सञ्चालन गर्ने उल्लेख छ ।






