प्यूठान, २६ फागुन ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व हिमाली एवं पहाडी जिल्लामा सोमबार मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वलाई रङहरुको पर्व समेत भनिन्छ ।
यस वर्ष कोरोना भाइरसको प्रभावले गर्दा होलीमा रङको प्रयोग नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जसले गर्दा होली पर्वको उल्लास हराएको छ । धेरै मानिसहरु भेला नहुने भनि प्रशासनले सूचना जारी गरेपछि होली समेत प्रभावित बनेको हो ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली अर्था फागु खेल्ने परम्परा चलेको मानिन्छ ।





