रमेश गिरी
प्यूठान । नेपाल शिक्षक संगठन प्यूठानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर घर्तीको अध्यक्षतामा २९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जायश्वर जैसी, उपाध्यक्षमा तेज पी.एम., महिला उपाध्यक्षमा सीता केसी, सचिवमा विजयसागर गिरी, सहसचिवमा जुना रायमाझी र कोषाध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ ।
नयाँ नेतृत्व चयनसँगै संगठनले शिक्षकका पेशागत हकहितको संरक्षण, संगठनको संस्थागत सुदृढीकरण, शिक्षकबीच एकता र सहकार्य तथा जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ ।
अधिवेशनको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष कमल जिसीले गर्नुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डेको प्रमुख आतिथ्यता तथा नेकपा लुम्बिनी प्रदेशका सहसंयोजक कृष्ण अधिकारी ‘प्रकाश’को विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेकपा जिल्ला संयोजक यज्ञ बहादुर केसी, झिमरुक गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा, प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगी, नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठ, युवा नेता लिलासिंह केसी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनमा विभिन्न राजनीतिक दलसम्बद्ध शिक्षक संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । वक्ताहरूले शिक्षकका पेशागत हकहित र अधिकारको संरक्षण, पेशागत सुरक्षा तथा सम्मान, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
शिक्षकहरू पाठ्यपुस्तकमा सीमित भएर ज्ञान बाँड्ने व्यक्ति मात्र नभई समाजमा चेतना अभिवृद्धि गर्ने, जिम्मेवार नागरिक निर्माण गर्ने र राष्ट्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण आधारस्तम्भ भएको वक्ताहरूको भनाइ थियो । शिक्षकका समस्या समाधान, जिम्मेवारीअनुसारको सेवा सुविधा र पेशागत सम्मानका विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनीहरूले बताएका थिए ।
त्यस्तै, संगठनलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर शिक्षकका साझा सवालमा केन्द्रित गर्नुपर्ने, जिल्लाभित्रका शिक्षकहरूबीच आपसी सद्भाव, सहकार्य र एकता कायम गर्दै शैक्षिक क्षेत्रका चुनौती समाधानमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
नवनिर्वाचित नेतृत्वले शिक्षकका आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउँदै पेशागत अधिकारको संरक्षण र शैक्षिक सुधारका अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको सञ्चालन गोपालप्रसाद घिमिरेले गर्नुभएको थियो ।










