प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवन आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । नगरप्रमुख विष्णुबहादुर योगीले भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र वर्मा, नगर प्रवक्ता सुमनराज श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमनारायण पौडेल, जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
वडा कार्यालय भवनको २०८१ साल वैशाख ५ गते शिलान्यास गरिएको थियो । पटक–पटक प्राप्त भएको थोरै–थोरै बजेट कार्यान्वयन गर्दै भवन निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि स्थानीय तीन जना जग्गादाताले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । स्थानीय दिवाकर शर्मा पौडेल, नारायणचन्द्र थापा र फुर्सीदेवी गिरीले भवन निर्माणका लागि जग्गा दान गर्नुभएको वडा सचिव चुमानबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
भवन उद्घाटन समारोहमा निःशुल्क जग्गा उपलब्ध गराउने तीनै जना जग्गादातालाई सम्मान समेत गरिएको थियो ।
यसअघि भाडाको घरबाट वडा कार्यालयको सेवा प्रवाह हुँदै आएकोमा अब आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएसँगै वडाको प्रशासनिक कामकाज थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ।










