प्यूठान । प्यूठानका फाइटर गुमान घर्ती मगरले भारतको दार्जीलिङमा आयोजित K1 Professional Kick-boxing Main Event मा शानदार जित हासिल गरेका छन् ।
शनिबार दार्जीलिङमा सम्पन्न कञ्चनजङ्घा फाइट नाइट (KFN) अन्तर्गतको मुख्य भिडन्तमा नेपालका गुमान घर्ती मगरले भारतका डन बोकसँग प्रतिस्पर्धा गरेका थिए । K1 Professional Kick-boxing अन्तर्गत भएको उक्त प्रतिस्पर्धामा गुमान विजयी भएका हुन् ।
अन्तर्राष्ट्रिय फाइटिङ मञ्चमा भारतीय खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेपछि गुमानले प्यूठानसँगै नेपालको नामसमेत अन्तर्राष्ट्रिय खेल क्षेत्रमा चिनाउन सफल भएका छन् ।
गुमान यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फाइटिङ प्रतियोगितामा सहभागी हुँदै आएका छन् । मुवाँथाई तथा किक–बक्सिङमा आफ्नो पहिचान बनाउँदै आएका उनले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् ।





