समाज

प्रसूति सेवा पुनः सञ्चालन पछि प्यूठान अस्पतालमा एक महिनामै १८० प्रसूति

प्यूठान । प्यूठान अस्पताल बिजुवारमा प्रसूति सेवा पुनः सञ्चालनमा आएपछि एक महिनाको अवधिमा १८० जना महिलाले प्रसूति सेवा लिएका छन् । जिल्लावासी डा. सन्तोष केसीको सहयोगमा सेवा पुनः सञ्चालनमा आएपछि अस्पतालमा सामान्य, शल्यक्रिया तथा जटिल प्रकृतिका प्रसूति सेवा उपलब्ध हुन थालेका हुन् ।

गत साउन १ गतेदेखि भदौ १५ गतेसम्म रोकिएको प्रसूति सेवा एक महिना भदौ १६ गतेदेखि पुनः सुरु भएको हो । सेवा सञ्चालनमा आएपछि अस्पतालमा प्रसूति गराउनेको संख्या बढेको अस्पतालले जनाएको छ ।

प्रसूति विभागकी इन्चार्ज सवित्रा गौतमका अनुसार एक महिनाको अवधिमा सेवा लिएका १८० जना मध्ये १९ जनाको शल्यक्रिया (सिजेरियन) मार्फत प्रसूति गरिएको छ भने १५१ जनाको सामान्य प्रसूति भएको छ । त्यस्तै, जटिल प्रकृतिका १० जना प्रसूतिको समेत व्यवस्थापन गरिएको छ ।

प्यूठानकै बासिन्दा डा. सन्तोष केसीले जिल्लाका नागरिकलाई आफ्नै जिल्लामा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्यूठान अस्पताललाई निःशुल्क तथा स्वेच्छिक रूपमा सहयोग गर्दै आउनुभएको बताइएको छ ।

विशेषगरी प्रसूति तथा आकस्मिक अवस्थाका बिरामीले समयमै उपचार नपाउँदा अन्य जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्ने र सम्भव भएसम्म जिल्लामै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उहाँले अस्पताललाई सहयोग गरिरहेको जनाइएको छ ।

प्रसूति सेवा बन्द हुँदा गर्भवती महिला तथा उनीहरूका परिवारले जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सेवा पुनः सञ्चालन हुनुलाई जिल्लाको स्वास्थ्य सेवाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

जिल्लामै विशेषज्ञ चिकित्सकको सहयोग, स्वास्थ्यकर्मीबीचको समन्वय र आवश्यक सेवाको निरन्तरताले प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्पतालमा सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा स्वास्थ्य पूर्वाधारको निरन्तरता पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ ।

Related Articles

Back to top button