राजनीति

नेपाली कांग्रेस प्यूठानद्वारा अधिवेशन तालिका सार्वजनिक, असोज ३ गते वडा अधिवेशन शुरु

प्यूठान । नेपाली कांग्रेस प्यूठान जिल्ला कार्यसमितिले पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत जिल्लामा असोज ३ गतेदेखि अधिवेशनका कार्यक्रमहरू सुरु हुने जानकारी दिएको छ । पार्टी केन्द्रको निर्धारित तालिका अनुसार असोज ३ गते वडा अधिवेशनबाट सुरु भई असोज १६ देखि १९ गतेसम्म केन्द्र सम्मको अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको छ ।

जिल्ला सभापति विष्णु कुमार गिरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भोटेकोशीमा आएको भीषण बाढीका कारण हजारौँ नागरिक हताहत, बेपत्ता र विस्थापित भएको दुःखद् परिस्थितिमा पनि कानुनी बाध्यताका कारण महाधिवेशन गर्नुपरेको प्रष्ट पारेको छ । विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी र विस्थापितहरूको सहज जीवनयापनका लागि सरकारसँग जोडदार माग गरिएको छ ।

नेपाली कांग्रेस प्यूठानले देशको वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । गत वर्ष भएको ’जेन जी’ आन्दोलनपछि बनेको नयाँ सरकारले ६ महिना बितािसक्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकारले कार्य सुरु गरेदेखि नै लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको सवालमा गम्भीर चुनौती थप्दै लगेको छ । हालै आएको विनाशकारी बाढीको समयमा उद्धारमा देखिएको कमजोरी लगायतका थुप्रै मुद्दामा झन्डै दुई–तिहाइको यो सरकारले जनताको विश्वास गुमाउँदै गएको छ । सभापति गिरीले असोज ३ गतेबाट सुरु हुने महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई लाग्न र पार्टीलाई थप सशक्त एवं सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।

Related Articles

Back to top button