समाज

प्याव्सन प्यूठानद्वारा सामाजिक सुरक्षा कोष र ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया

प्यूठान । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) प्यूठानले निजी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूसँग सामाजिक सुरक्षा कोषका योजना तथा शिक्षक, चालक र सहचालकहरूसँग ट्राफिक सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार जुम्रीमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोष, बुटवलका आईटी प्रमुख खिमबहादुर कार्कीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता दुवैको हितमा रहेको बताउनुभयो। कोषमार्फत औषधि उपचारलगायत विभिन्न सुविधा तथा ऋणसमेत प्राप्त गर्न सकिने भएकाले सबै संस्था र श्रमिकलाई कोषमा आबद्ध हुन उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख विष्णुप्रसाद न्यौपानेले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक रहेको बताउनुभयो। उहाँले जेब्रा क्रसिङको प्रयोग, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक बत्तीको प्रयोग तथा लेन अनुशासन पालना गर्न सबैलाई आग्रह गर्नुभयो।

विद्यालय तथा बजार क्षेत्रलाई विशेष संवेदनशील क्षेत्रका रूपमा लिएर विद्यार्थी र पैदलयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। साथै, सबै सवारीसाधन तथा विद्यालयका बसमा अनिवार्य रूपमा सहचालक राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। ट्राफिक नियमको पालना र आवश्यक सावधानी अपनाउन सके सडक दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो।

त्यस्तै, प्याव्सन प्यूठानका सचिव शरद गौतमले राज्यले अघि सारेको सामाजिक सुरक्षा कोषसम्बन्धी अवधारणालाई क्रमशः कार्यान्वयन गर्दै प्याव्सनअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै लैजाने बताउनुभयो।

प्याव्सन प्यूठानका अध्यक्ष दीपेन्द्र जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्याव्सन प्यूठानका वरिष्ठ सदस्य केशवराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शरद गौतमले गर्नुभएको थियो।

Related Articles

Back to top button