श्रीराम भण्डारी
प्यूठान । नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा शाखा र वडाले वार्षिक कार्यसम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन ।
प्रस्तुतिकरणका आधारमा महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राधा बस्नेत र ६ नम्बर वडा सचिव धर्म नेपालीलाई सम्मान गरिएको छ । गाउँपालिकाभित्र सबैभन्दा बढी राजस्व संकलन गर्ने ५ नम्बर वडाध्यक्ष दलराज पुन मगर, वडा सचिव ज्ञान बहादुर घर्ती मगर र ८ नम्बर वडाध्यक्ष मान बहादुर के. सी, वडा सचिव रमिना पुन मगरलाई सम्मान गरिएको हो ।
वार्षिक समिक्षा कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत नीति, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाको कार्यसम्पादनलाई सुशासन, पारदर्शिता र नतिजामुखी बनाउन कार्यसम्पादन करार सम्झौता गरि सम्झौता पत्र हस्तान्तरण समेत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले हालसम्म गाउँपालिकाले हाँसिल गरेका उपलब्धिहरू सम्पूर्ण कर्मचारीको सिर्जनशीलता, मेहनत र समन्वयबाट सम्भव भएको बताउनुभयो । आर्थिक वर्ष २०८३/०८४ मा पनि यही भावना र कार्यशैलीलाई निरन्तरता दिँदै प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्न उहाँले कर्मचारीहरूलाई सुझाव दिनुभयो । अध्यक्ष थापाले ‘सभ्य, समृद्ध र सुखी नौबहिनी’ निर्माणको अवधारणा पूरा गर्न जनमुखी, पारदर्शी र परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष विष्णा थापाले विगतमा भएका कामको समिक्षा गर्दै वर्तमानका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र जनमुखी बनाउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन योजना तथा प्रशासन शाखा प्रमुख अरविन्द्र ब्रह्माले गर्नुभएको थियो ।




