
प्यूठान । मदाने गाउँपालिका–५ गुल्मीकी २४ वर्षिय विष्णु वि.क.ले ४ वटा बच्चाको जन्म दिएकी छन् । शनिवार विहान एउटा घरमै, अस्पताल आउँदै गर्दा बाटोमा एउटा र प्यूठान अस्पताल विजुवारमा दुई वटा बच्चालाई जन्म दिएकी हुन् ।
घरमा र बाटोमा जन्म भएका दुई छोरीको ज्यान गइसकेको र अस्पतालमा जन्म भएका दुई छोरीको अवस्था ठिक रहेको प्यूठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल)ले बताउनुभयो ।
तीन दिन अघि वुटवलमा उपचारको क्रममा ४ वटा बच्चा रहेको स्वास्थ्यकर्मीले बताएको पारिवारिक श्रोतले जनाएको छ । आर्थिक अभावका कारण निरन्तर अस्पताल बस्न नसकेको विष्णुकी दिदि श्रीजना वि.क.ले बताउनुभयो । विष्णुको यसअघि ८ र ६ वर्षिय छोरी छन् ।
श्रीमान् भारतको सिम्लामा मजदुरी गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकेको विष्णुकी आमा पार्वतीले बताउनुभयो । उहाँले भन्नुभयो्, ‘छोरीको ज्यान ठिक छ, त्यहि ठूलो कुरा भयो ।’
मदाने गाउँपालिका र जिल्ला अस्पताल प्यूठानले आमा र बच्चाहरुको उपचारको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।







