स्थानीय सरकार

चिकित्सक र उपकरणको पर्खाइमा गौमुखी अस्पताल

प्यूठान । १८ करोडको लागतमा पालिका स्तरीय आधारभुत अस्पताल भवन निर्माण गरेको प्यूठानको गौमुखी गाउँपालिकाले अस्पताल संचालनका लागि संघ र प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छ । पालिकाले मात्र अस्पताल संचालन गर्न कठिनाई हुने भएकाले संघ र प्रदेश सरकारले जनशक्ति र उपकरण सहायता गर्नुपर्ने गाउँपालिकाको भनाई छ ।

१५ शैयाको आधारभुत अस्पताल संचालनका लागि भवन निर्माण सम्पन्न गरेको गौमुखी गाउँपालिका प्यूठानले अस्पताल नियमित संचालनको तयारी अघि बढाएको छ । अस्पताल संचालनका लागि आवश्यक जनशक्ति करारमा नियुक्त गरी संचालनको तयारी गरेको हो । मेडिकल अधिकृत, अनमि र कार्यालय सहयोगी नियुक्तिका लागि प्रक्रिया अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

आधारभुत अस्पताल संचालनका लागि संघ र प्रदेशबाट छुट्टै बजेट प्राप्त नभए पनि गाउँपालिकाले आफ्नै व्यवस्थापनमा कम्तिमा ३ वेड (प्राथमिक स्वास्थ्य केन्द्र सरह)को अस्पताल संचालनको तयारीमा रहेको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले बताउनुभयो ।

गाउँपालिकाले पुजा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी गौमुखी आधारभुत अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयमा सुचिकृत गर्ने प्रक्रिया अघि बढाएको छ । अस्पताल संचालनका लागि पालिकाको श्रोतले मात्र खर्च धान्न नसक्ने भएकाले संघीय र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने गाउँपालिकाको भनाई छ । आधारभुत अस्पताल संचालन मापदण्ड अनुसार पनि जनशक्तिको व्यवस्थापन र स्वास्थ्य सामाग्री संघीय सरकारले उपलब्ध गराउने उल्लेख छ । ‘भवन निर्माण भएको छ, संघ र प्रदेश सरकरालाई आधारभुत अस्पताल संचालनका लागि अनुरोध गरेका छौं ।’ ,गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले भन्नुभयो, ‘न्यूनतम आवश्यक चिकित्सको दरवन्दीको प्रवन्ध संघ सरकारले व्यवस्था गरिदियोस्, उपकरणहरु महंगो पर्ने भएकाले शुरुको व्यवस्थापन गरिदिएमा पालिकाले अस्पताल संचालन गर्छाै ।’

अस्पतालका लागि आवश्यक उपकरणहरु महंगो पर्ने भएकाले पनि सहयोगको अपेक्षा गरिएको गाउँपालिले जनाएको छ । गाउँपालिकाले आगामी वर्षको बार्षिक नीति तथा कार्यक्रममै समेटेर अस्पताललाई दिगो रुपमा संचालन गर्ने योजना बनाएको छ ।

Related Articles

Back to top button