प्यूठान । शिकारका क्रममा जंगलमा गोली चल्दा एक किशोरको ज्यान गएको छ भने किशोरी घाइते भएकी छ्न । गौमुखी गाउँपालिका–४ सुङगुरखाल पुजा स्थित चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर फायर खोल्दा गोली लागेर घाइते भएका किशोरको उपचारको क्रममा ज्यान गएको हो ।
नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारमाथि चैत्र २९ गते राति करिव १०:४५ बजेको समयमा गोली लागेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गोलि लाग्दा घाइते भएका परियारको उपचारका क्रममा चैत्र ३० गते बुटवलमा मृत्यु भएको प्यूठान प्रहरी निमित्त प्रमुख प्रहरी निरिक्षक हरि भट्टराईले बताउनुभयो ।
मृतक परियार आफ्ना साथी सन्जु परियार भनिने दुर्जे दमाईसँग साढे तीन घण्टाको पैदलयात्रा नौबहिनी गाउँपालिका-४ खवाङबाट गौमुखी गाउँपालिकाको वाग्लिवाङ केटी साथी भेट्न गएका थिए ।
घटनामा गौमुखी गाउँपालिका-४ की १८ वर्षीया किशोरी घाइते छिन् । उनको लुम्बिनी सिटी हस्पिटल बुटुवलमा उपचार भैरहेको छ । किशोरीको अवस्था भने खतरा मुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।
गौमुखी गाउँपालिका-४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनाको समूह शिकार खेल्न जंगल गएका थिए । गोलि चलाउने केसी र उनीसँगै शिकार खेल्न गएका २२ वर्षिय बिश्वास केसी, १९ वर्षिय वबि केसी, १४ वर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । दुई थान भरूवा बन्दुक पनि बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
चारै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरि ज्यान सम्बन्धि मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

