प्यूठान । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्यूठानको दोश्रो जिल्ला परिषद् भेला जस्पुरमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष दिपेन्द्र जि.सी.को अध्यक्षतामा भएको परिषद्को उद्घाटन माण्डबी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले गर्नुभयो ।
नेपालमा सबै विद्यार्थीहरुको आवश्यकता सामुदायिक विद्यालयहरुले मात्र पुरा गर्न नसक्ने भएकाले नीजि विद्यालयहरुको आवश्यकता रहेको प्याब्सन प्यूठानका अध्यक्ष दिपेन्द्र जिसीले बताउनुभयो । शिक्षा महंगो भयो भन्ने भाष्य श्रृजना गर्न खोजिएको छ तर यसको गुणस्तरियताको पनि मुल्यांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
योग्य र अनुभवी शिक्षक कर्मचारीलाई दिर्घकालसम्म टिकाई राख्नु, जनशक्तिमा राज्यको लगानी शुन्य प्रायः हुनु, दक्षता विकासमा लागत बृद्धि हुनु जस्ता विषय नीजि विद्यालयका चुनौती रहेको प्याब्सन प्यूठानका सचिब शरद गौतमले बताउनुभयो । शिक्षा नीतिमा एक रुपता नभएको भन्दै उहाँले पालिका अनुसार फरक फरक नियम रहेकोले उल्लेख गर्नुभयो ।
गुणस्तरीय शिक्षाको मापदण्ड निर्माण, शिक्षा विकास तथा तालिम केन्द्र स्थापना, डिजिटल शिक्षा अभियान, सदस्य विद्यालयमा अभिभावक विद्यालय साझेदारी कार्यक्रम, विद्यार्थीको प्रतिभा विकास, शिक्षामा प्रविधिको एकीकृत प्रयोग, सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न विद्यार्थीलाई छात्रबृत्ति, समुदायमा स्वास्थ्य तथा सरसफाई सचेतना, विपद् व्यवस्थपानमा सहयोग जस्ता भावी कार्यक्रम जिल्ला परिषद्ले अघि सारेको छ ।
