प्यूठान। गौमुखी गाउँपालिका प्यूठानले सबै कच्ची घरको बीमा गरेको छ । पालिका भित्रका ३ हजार ११ घरको निःशुल्क बीमा गरेको हो ।
प्राकृतिक विपत्ति र अप्रत्यासित दुर्घटनाका कारण हुने क्षति न्यूनिकरणका लागि गाउँपालिकाले सबै घरको बीमा गरेको पालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनुभयो । बाढि पहिरो, भुकम्पी, आगलागी जस्ता प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि बीमा कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।
आ.व. २०८१/८२ बाट शुरु गरिएको बीमा कार्यक्रमबाट दुई जनाले लाभ लिइ सकेका छन् । आगलागीबाट घरमा क्षति पुगेपछि क्षतिपुर्ति वापतको बीमा रकम प्राप्त गरेको गौमुखी गाउँपालिका-४ निवासी लक्ष्मी वि.क.ले बताउनुभयो । आगलागीबाट घरमा क्षति पुगेको थियो ।’ उहाँले भन्नुभयो, ३ लाख ८४ हजार ४०० रुपैंया बीमा वापतको रकम गाउँपालिकाले दिएको छ ।’
बीमा कार्यक्रमले भविष्यमा हुने जोखिमहरुबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । `जीवनभरको कमाई घर बनाउन खर्च भएको हुन्छ ।’ ,उहाँले भन्नुभयो, `ठूलो आर्थिक संकटबाट जोगाउन बीमा योजना कार्यान्वयनमा ल्याइएको हो ।’ बीमाका लागि गाउँपालिकाले नेको इन्सोरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।
बीमा कार्यक्रमलाई बिस्तार गरि गाउँपालिकाले सबै घरधुरीलाई आवद्ध गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले आ.व. २०८२/८३ लागि १५ लाख रुपैंया बिनियोजन गरेको छ । विपद्जन्य घटनाहरुको कारण हुने क्षेतिबाट राहत, पुनःनिर्माण र पुनःस्थापनाका लागि घर बीमा कार्यक्रममा सबै घरधुरीहरुलाई आवद्ध गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र ५ हजार ५ सय ८६ घरधुरी रहेका छन् ।
यो पालिका खरको छाना मुक्त’ बनाउने देशकै पहिलो गाउँपालिका हो । गाउँपालिकाले विपन्न १ हजार ५ सय ७५ घरपरिवारलाई जस्तापाता वितरण गरि खरको छाना विस्तापित गरेको छ ।
