प्यूठान । झिमरुक र माडी नदीबाट अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गर्नेलाई जरिवाना गरिएको छ ।
झिमरुक नदीको स्याउलेघारी, लामासेरा र माडी खोलाको भलवाङबाट अवैध रुपमा मिस्कट, बालुवार ढुङ्गा उत्खनन गर्ने जेसिवी र टिप्परलाई जरिवाना गरिएको छ । प्रहरीको गस्ति टोलिले अवैध रुपमा उन्खनन गरिरहेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पालिकाको कार्यालय पठाएकोमा पालिकाले नियमानुसार जरिवाना गराई छोडेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
झिमरुक गाउँपालिका–७ स्याउलेघारीबाट नियन्त्रणमा लिइएको रा १ क २२९६ नम्वरको जेसिवी र रा १ ख १९७१ नं.को टिप्परबाट झिमरुक गाउँपालिकाले १५ हजार रुपैंया जरिवाना गराएको छ । गाउँपालिकाले वडा नं. ३ लामासेरा साठ्ठीमुरेबाट प्रहरीले नियन्त्रणमा लिएको गौमुखी एग्रीगेट कम्पनी प्रा.लि.को लु १ च ४४५५ नं.को जेसिवी, लु १ ख १९७८ र ना ७ ख ७९२३ नम्वरको टिप्परबाट १५ हजार रुपैंया जरिवाना गराएको छ ।
प्यूठान नगरपालिका–१ भलवाङ स्थित माडी खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको लु १ क २३२२ नं.को जेसिवी र स १ ख ७१८ नं.को टिप्परबाट प्यूठान नगरपालिकाले ९ हजार रुपैंया जरिवाना गराएको छ ।
खोलाबाट मेसिनको प्रयोग गरि नदीजन्य सामाग्री उत्खनन गर्नु गैर कानुनी हो ।
