स्थानीय सरकार

पूर्ण संस्थागत प्रसुति सुनिश्चिततालाई निरन्तरता दिँदै गौमुखी गाउँपालिका

प्यूठान । दुर्गम मानिने प्यूठानको गौमुखी गाउँपालिकाले चुनौतीहरुको सामना गर्दै पूर्ण संस्थागत प्रसुति सुनिश्चिततालाई निरन्तरता दिँदै आएको छ । गतवर्ष यस्तो घोषणा गरिएकोमा यसवर्ष पनि चुनौतीका वीच यसलाई सुनिश्चितता तथा दिगोपना दिन गाउँपालिकाले विभिन्न अभ्यासहरु गर्दै आएको छ ।

आर्थिकवर्ष २०७९/८० मा दुई वटा वडाबाट शुरु भएको अभियानलाई पालिका हुँदै निरन्तरता दिइदै आएको स्वास्थ्य शाखाका प्रमुख हरिप्रसाद जैसीले बताउनुभयो । ‘मातृ तथा शिशु मृत्युदर घटाउने, गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच, नियमित आइरन चिक्की लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुने र प्रसूति पश्चात नियमित जाँचमा अभियान अन्तरतगत जोड दिइएको छ ।’ ,उहाँले भन्नुभयो ।

२०८२ जेठ ३१ गते गौमुखी गाउँपालिका प्यूठानलाई पूर्ण स्वास्थ्य संस्थामा प्रसुति सुनिश्चित भएको पालिका घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारले पूर्णतया स्वास्थ्य संस्थामा प्रसुति भएको पालिका घोषणा निर्देशिकाको मापदण्ड बमोजिम पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

भौगोलिक अवस्थाका कारण अभियानलाई निरन्तरता दिन कठिनाई हुने देखिएपछि गाउँपालिकाले प्रसुतिका लागि निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको छ । ‘यातायातका कारण गर्भवती अस्पताल पुग्न सकेका थिएनन् ।’ ,गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भन्नुभयो, ‘स्वास्थ्य संस्थासम्म पुग्न र स्वास्थ्य संस्थाले उपल्लो निकायमा रिफर गरेमा अस्पतालसम्म पुग्न गाउँपालिकाबाट यातायात सुविधा उपलब्ध गराउँदै आएका छौं ।’

अभियानलाई निरन्तरता दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, आमा समुहहरुको क्षमता विकासका कार्यक्रम संचालन गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । ७ वटा वडा रहेको गाउँपालिकामा ८ वटा स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट ‘बर्थिङ सेन्टर’ संचालनमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

अभियानसँगै गर्भवति समयमा स्वास्थ्य संस्था नगएपनि हुने बताउँने यहाँका महिलाहरु अहिले गर्भवति र सुत्केरी समयमा नियमित स्वास्थ्य जाँच गर्न थालेको महिला स्वास्थ्य स्वयमसेविका सावित्रा रोका विष्टले बताउनुभयो । अभियानलाई दिगोपना राख्नका लागि महिला स्वास्थ्य स्वयमसेविकासँगै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुखको महत्वपूर्ण भुमिका रहन्छ । आवश्यक श्रोत साधनको जोहो गर्न स्वास्थ्य संस्था प्रमुखले भुमिका निर्वाह गरेमा अभियानलाई निरन्तर कायम राख्न सकिने खुङ स्वास्थ्य चौकीका प्रमुख दुर्गा रिजालले बताउनुभयो ।

तालिम प्राप्त स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थाबाट २४ सैं घण्टा प्रसुति सेवा दिँदै आएका छन् । एउटै नर्सिङ स्टाफले २४ घण्टा सेवा दिनुपरेकोले दक्ष स्वास्थ्यकर्मी र सहायक स्तरको कर्मचारी दरवन्दी थप गर्दा सेवा थप प्रभावकारी हुने नर्सिङ स्वास्थ्यकर्मी उषा सुवेदी बताउनुहुन्छ ।

चुनौतीका बीच पूर्ण संस्थागत प्रसुतिलाई निरन्तरता दिँदै आएको गाउँपालिकाले पूर्ण खोपलाई समेत सँगसँगै अघि बढाएको छ ।

नेपालमा एक लाख आमाले बच्चा जन्माउँदा १ सय ५१ आमाको ज्यान जाने गरेको तथ्याङ्क छ । त्यस्तै, प्रति १ हजार ५ वर्षमुनिका बालबालिकामध्ये ३२ जनाको मृत्यु हुने गरेको छ भने प्रति हजारमा २४ जना नवजात शिशुको मृत्यु हुने गरेको तथ्यांक छ । पूर्ण स्वास्थ्य संस्थामा प्रसूति अभियानले यी मृत्युदर घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Related Articles

Back to top button