प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ६ को बुढिचौरमा गठबन्धन दलका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा दुवै पक्षका कार्यकर्ता घाईते भएका छन् ।
नेकपा एमालेका चार जना कार्यकर्ता घाईते भएका छन् । मन बहादुर पुन द्रोण बहादुर विक, चिर बहादुर कामी, उम बहादुर विक घाईते हुनुभएको छ । मन बहादुर पुनको टाउकोमा चोट लागेको र ६ वटा टाँका लगाइएको एमाले नेता तुल बहादुर राेकाले बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य नेत्रमणी पोख्रेलले चार जना कार्यकर्ता घाईते भएको जानकारी दिनुभयो । हिरा बहादुर पुन, तिलक वि.क., तिलक राना, लालसिंह रोका गम्भीर घाईते भएको बताउनुभयो । उनीहरुलाई उपचारका लागि लैजान एम्बुलेन्स बोलाइएको बताउनुभयो ।
आज बुढीचौरमा दुवै पक्षले चुनावी कार्यक्रम गरेका थिए । गठबन्धनले मञ्च कार्यक्रम र नेकपा एमालेले घरदैलो कार्यक्रम गरेका थिए । झडप हुनुमा दुवै पक्षले एकअर्कोलाई आरोप लगाएका छन ।
बाहिरबाट मोटरसाईकलमा आएका गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको राेकाले बताउनुभयो । “हाम्रो घरदैलो कार्यक्रम थियो, उनीहरुले वडा कार्यालय नजिकै कार्यक्रम गर्दै रहेछन्, नारा जुलुस गर्दै अगाडी गइरहेको बेला गठबन्धनका कार्यकर्ताले आक्रमण गरेर हामीलाई लखेटे, हामी हाम्रो सम्पर्क कार्यालयमा आयौं, अहिले पनि यहिँ छौं ।” राेकाले टेलिफोनमा भन्नुभयो ।
कांग्रेस नेता नेत्रमणी पोख्रेलले भने एमालेका कार्यकर्ताले कार्यक्रम गरिरहेका बेला आफूहरुमाथी आक्रमण गरेको दावी गर्नुभयो । “अराजक शैलीमा आए, ढुंगा मुढा प्रहार गरे ।” पोख्रेलले टेलिफोनमा भन्नुभयो ।
बेलुका करीव ६ बजेतिर घटना भएकाे थियाे ।