प्यूठान । पाँच दलीय गठबन्धनमा सहभागी भएको राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकामा एक्लिएको छ । गौमुखीमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच तालमेल भएपछि जनमोर्चा एक्लै चुनाव लड्न बाध्य भएको छ । सवै पालिकामा गठबन्धनमा सामेल भएकाे जनमाेर्चा गाैमुखीमा बाहिरिनु परेकाे हाे ।
जनमोर्चाले गाउँपालिका अध्यक्षमा ज्ञामुराम न्यौपानेलाई उम्मेदवार बनाएको छ । प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका न्यौपानेले अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । उपाध्यक्षमा तारा पुरीको मनोनयन दर्ता भएको छ ।
जनमोर्चाले १ नं. वडामा पुनम टोमटा, २ नं. वडामा अमर राना बिटालु, ३ नं. वडामा ज्ञान बहादुर वि.क., ४ नं. वडामा कृष्ण प्रसाद जैसी, ५ नं. वडामा बरुणध्वज मल्ल, ६ नं. वडामा ओम बहादुर बोहोरा, ७ नं. वडामा हुकुम बहादुर थापाको उम्मेदवार बनाएकाे छ ।