साहित्य सृजना

हैन भने के ? मास्टर

ध्रुब गिरी

टोल टोलमा गएर पढा मास्टर, कोभिडको डर छैन तँलाई
विद्यार्थी नभए पनि विद्यालयमा बस्नैपर्छ मास्टर, घर परिवार चाहिँदैन तँलाई
तलव ४ महिनापछि मात्रै पाउछस काम गर मास्टर, खान लाउन नि पर्दैन तँलाई
कोभिड विरुद्धको खोप मागेर राजनीति नगर मास्टर, कोभिड नै लाग्दैन तँलाई

 

अनलाईन कक्षा सञ्चालन गर मास्टर, इन्टरनेट र सामग्री चाहिँदैन तँलाई
वैकल्पिक सिकाई सहजीकरण गर मास्टर, कुनै पूर्वाधार चाहिदैन तँलाई
बसीबसी तलव खान्छस ?मास्टर, जिविकोपार्जन गर्नै पर्दैन तँलाई
संक्रमित भइ मरेपनि मर मास्टर, खोप, उपचार अस्पत्ताल केही चाहिदैन तँलाई

 

तेरो मृत्युको लेखाजोखा किन गर्ने मास्टर, राष्ट्रसेवक त मानिदैन तँलाई
कोरोनाले ग्रसित भइ मर या बाँच मास्टर, राज्यले कुनै जिम्मा लिन्न तँलाई
तेरै स्वाभिमानको गीत गाएर बस् मास्टर, चाकडी चाप्लुसी गर्न आउदैन तँलाई
अन्याय, अत्याचार, भेदभावको विरोध नगर मास्टर, कार्वाहीको पुरस्कार दिउँला तँलाई

 

२०७८ जेष्ठ २ गते

Related Articles

Back to top button