प्यूठान । सरकारले सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधनमा केहि प्रावधान नकारात्मक र निर्माण व्यवसायीको हितमा नभएको भन्दै प्यूठानका निर्माण व्यवसायीले संशोधनको माग गरेका छन् ।
चैत ३ गते राजपत्रमा प्रकाशित संशोधनमा केहि प्रावधान राम्रो राखेपनि केहि प्रावधान नकारात्मक भएकाले पुनः संशोधन वा खारेज गर्नुपर्ने निर्माण व्यवसायी संघ प्यूठानले माग गरेको छ ।
निर्माण व्यवसायी संघ प्यूठानले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । त्यसैगरी निर्माण सामाग्रीमा भएको मुल्यवृद्धि, बीमा समितिले भदौ २९ मा जारी गरेको विमा सम्वन्धी निर्देशिका २०७८ ले प्रिमियम दरमा अत्यधिक वृद्धि गरेकोले निर्माण व्यवसायी मारमा परेको संघले जनाएको छ ।