> स्थानीय सरकार > माण्डवीको स्थानीय पाठ्यक्रमको मस्यौदा तयारः सरोकारवालासँग छलफल


माण्डवीको स्थानीय पाठ्यक्रमको मस्यौदा तयारः सरोकारवालासँग छलफल

सुजल श्रेष्ठ
प्यूठान । माण्डवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । पालिकाले नयाँ शैक्षिक शत्रबाट लागु गर्ने गरी स्थानीय पाठ्यक्रम तयार गर्न लागेको हो ।

 

पाठ्यक्रमको मस्यौदा तयार भैसकेको र अन्तिम रुप दिने क्रममा रहेको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बताउनुभयो । तयार भएको मस्यौदाको बारेमा आज सरोकारवालालाई जानकारी गराएको र सुझाव लिएको समेत उहाँले बताउनुभयो ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्र अन्र्तगत राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ तयार गरेको छ । जस अन्र्तगत ७ वटा विषयक्षेत्र समेटेर कक्षा १-८ को स्थानीय पाठ्यक्रम बनाउन लागिएको हो ।

 

देशभर हाल १, २, ३, ४, ६, ७, ९, ११, १२ मा नयाँ पाठ्यक्रम लागु भएको छ । बाँकी रहेको ५, ८ र १० मा समेत नयाँ शैक्षिक शत्र २०७९ देखि पाठ्यक्रमसँगै पाठ्यपुस्तक बनेर लागु हुनेछ ।

“३ वर्षदेखि स्थानीय पाठ्यक्रम पढाउन छुटिरहेको छ,” उहाँले भन्नुभयो, “अहिले अन्तिम चरणमा पाठ्यक्रम तयार हुन लागेको छ ।”
प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालको संयोजकत्वमा रहेको १२ सदस्यीय कार्यदलले काम गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका अधिकृत युवराज घिमिरेको प्राविधिक सहयोगमा पाठ्यक्रम तयार गर्न लागिएको हो ।

 

स्थानीय पाठ्यक्रमलाई स्थानीयको अपनत्व हुने गरि बनाउन स्थानीय बुद्धिजिवि, शिक्षाप्रेमी, राजनीतिक दल, पत्रकारसँग छलफल गरि सुझाव मागिएको शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो । थुप्रै सुझाव आएको र थप सुझावका लागि एक साताको समय राखिएको बताउनुभयो ।
प्राप्त भएका सल्लाह सुझाव अनुसार पाठ्यक्रममा थप घट गरेर कार्यदलले अन्तिम रुप दिनेछ । त्यसपछि कार्यपालिकाले पारित गरेर स्थानीय पाठ्यक्रम लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *