> आर्थिक/बिकास > सुन्दर सारी (भिडियो सहित)


सुन्दर सारी (भिडियो सहित)

लुम्बिनी प्रदेशमा पर्ने प्यूठान जिल्लाका ९ स्थानीय तह मध्य एक हो, स्वर्गद्धारी नगरपालिका । नगरपालिका अन्तरगत साविक सारी गाविसलाई समेटेर स्वर्गद्धारी नगरपालिकाको ५ नम्वर वडा भएको छ । भालुवाङ रोल्पा सडक खण्ड अन्तरगत भिंगृ–किमिचौर सडक क्षेत्रबाट पुर्व पट्टि माडि खोला पारि सारी बस्ती अवस्थित छ ।

 

तल्लो सारी, उपल्लो सारी, सिस्नेरी, डाँडागाउँ, साउनेपानी, चरोजा, गायखर्क, खोलाखेत, दमार, सारीकोट, मौवारी, सनीलेख, नौबिसे, दमार ५ नं. वडाका मुख्य बस्तीहरु हुन् । यहाँ ब्रामण, क्षेत्री, मगर, दलित लगायतका जातजातीहरुको मिश्रीत बसोवास रहेको यस वडामा करिव ३ हजार ५ सय ९४ जनसंख्या रहेको छ । यो वडा १७ दशमलव ३ वर्ग किलोमिटरमा फैलिएको छ । कृषि, पशुपालन र त्यसमा आधारित लघु उद्यमहरु यहाँको मुख्य आयश्रोतका क्षेत्र हुन् ।

 

५ नं. वडामा कृषि विद्यालय सहित आधारभुत विद्यालय, प्राथमिक विद्यालय र बालविकास केन्द्र सञ्चालनमा छन् । सारी स्वास्थ्य चौकी र स्यानीलेख शहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

 

राज्य पुनः संरचनासँगै २०७३ सालमा स्वर्गद्धारी नगरपालिकाको स्थापना भएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचबाट यस वडामा हिरामणि भण्डारीले वडाको नेतृत्व गर्नुभएको हो ।

 

अहिले सारीका अधिकांस वस्तीहरु सडक सञ्जालले जोडिएको छ । कालोपत्रे सडकको काम भैरहेको छ । ग्रामीण बस्तीहरु सडक सञ्जालले जोडिएका छन् । भौगोलिक विकटता भएका क्षेत्रमा पिसिसि सडक निर्माण गरि आवतजावतमा सहजता ल्याइएको छ । चेरनेटा सालघारी सारी हुँदै रोल्पा सडक खण्डको भालुखोलामा पक्की निर्माण गरिएको छ ।

 

एक घर, एक धारा अभियान अन्तरगत खानेपानी आयोजनाहरु संचालनमा छन् । खानेपानीको अभावले समस्यामा पर्दै आएका यहाँका स्थानीयलाई खानेपानीका लागि धेरै समय खर्चनु पर्ने बाध्यता अहिले टरेको छ । खानेपानीको सहज आपुर्ति नभएका बस्तीहरुमा लिफ्ट मार्फत खानेपानी सुविधा पुर्याइएको छ । सिस्नेरी साउनेपानी खानेपानी, तल्लो सारी खानेपानी, चरोजा लिफ्ट खानेपानी, स्यानीलेख खानेपानी, उपल्लो सारी खानेपानी यहाँका मुख्य खानेपानी आयोजना हुन् ।

 

राम्रो कृषि उत्पादन हुने भएकाले यसका लागि सिंचाई पुर्वाधार अत्यावश्यक हुन्छ । सिंचाई सुविधाका लागि विभिन्न योजनाहरु कार्यान्वयन भई सिंचाई सुविधा उपलब्ध भएको छ । सिंचाई सुविधा भएपछि यहाँका स्थानीय तरकारी खेतीमा आकर्षित भएका छन् ।

 

सारीको मुख्य पर्यटकीय आकर्षिणको केन्द्रमा रहेको छ, सारी भु–बनोट । कडा माटोले बनेको विभिन्न आकृति रहेको यो क्षेत्र पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ । मुस्ताङको झल्को दिने भएकोले यसलाई मिनि मुस्ताङ पनि भन्ने गरिन्छ । भुबनोट वडा कार्यालय नजिकै रहेको छ ।

 

वडा कार्यालय नजिकै करिव ५०० जना अट्न सक्ने व्यवस्थित सभाहल निर्माण भएको छ । सुव्यवस्थित बहुउद्देश्यीय सभाहल निर्माण गरिएको छ ।

 

खरको छाना विस्तापित गर्ने अभियान अन्तरगत यस वडामा रहेका खरका छानालाई जस्तापाता वितरण गरिएको छ । पानि चुहिने, आगलागीको डर हुने भएकाले खरको छाना विस्तापित गरी जस्तापाताको छाना लगाइएको हो ।

 

उमामहेश्वरी माध्यमिक विद्यालय सारीलाई कृषि शिक्षालयको रुपमा विकास गरिएको छ । कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्यापन हुन्छ ।
सारी स्वास्थ्य केन्द्रले स्वास्थय सेवा प्रदान गर्दै आएको छ । ग्रामीण बस्तीलाई समेट्ने गरी स्यानीलेखमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसले स्वास्थ्य सेवामा सहज पहुँच पुर्याएको छ ।

 

वडाले विपन्न नागरिकहरुका लागि निशुल्क मिटरवक्स वितरण गरेको छ ।

 

यहाँको मुख्य आम्दानीको श्रोत कृषि तथा पशुपालन हो । यहाँका किसानहरु व्यवसायिक कृषि तथा पशुपालनमा अग्रसर भएका छन् ।
कृषकहरुलाई प्रोत्साहन गर्न वडा कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कृषकलाई कृषि औजार, विऊ वितरण, खोर निर्माण लगायत सहयोग पुर्याएको छ ।

 

वडाको विकासका लागि वडाले नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार लगायत विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै काम अघि बढाएको छ । जसले गर्दा यस वडामा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक, खानेपानी लगायत क्षेत्रको विकास निर्माणले गति लिएको छ ।

 

स्थानीय तह बनेपछिको पहिलो कार्यकालमै यस वडामा महत्वपूर्ण काम भएका छन् । आगामी दिनमा थप विकास निर्माणका लागि विकासको आधार तय भएको छ । यसका लागि जनप्रतिनिधिको सक्रियता र जनताको सहभागिताले सम्भव भएको हो । सारीको विकास अरु वडा र जनप्रतिनिधिका लागि प्रेरणादायी र उदाहरणीय बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *