प्यूठान । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले विशेष साधारण सभाको सभा मार्फत आइतवार निर्णय प्रमाणित गरेको छ ।
फूलवारी साकोस र विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था एकिकृत भइ कारोवार सञ्चालन गर्न विशेष साधारण सभा गरिएको हो । एकिकरण पश्चात संस्थाको नाम विजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. र केन्द्रिय कार्यालय प्यूठान नगरपालिका ३ जुम्रीमा हुनेछ ।
अध्यक्ष भोज बहादुर बस्नेतले प्यूठानमा सहकारी संस्था एकिकरण अभियानमा निकै पछाडी रहेको बताउनु भएको छ । शेयर सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गर्न एकिकरणले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै आगामी दिनमा समेत थप सहकारीसँग एकिकरण गर्ने अभियानलाई निरन्तरता दिने बताउँदै संस्थाको सेवाप्रवाहमा थप सहज र प्रभावकारी बनाउनेमा निरन्तर लागी पर्ने समेत बताउनु भएको छ ।
पुर्व अध्यक्ष छन्द बहादुर बस्नेतले सदस्यलाई आधुनिक वित्तिय सेवा प्रवाह गर्न संस्थाको पुँजीवद्धी र प्रविधिमैत्री सहकारी हुन एकिकरणको अपरिहार्यता रहेको बताँउँदै वित्तिय संस्थासँग प्रतिष्पर्धाको लागि समेत अव्वल हुनुपर्नेमा समेत जोड दिनुभएको छ ।
सल्लाहकार चुमान सिंह बस्नेतले संस्थाको विकासमा सञ्चालक समिति र कर्मचारीको महत्वपूर्ण भुमिका हुने भएकोले संस्था प्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिँदै एकिकरणले संस्थाको पुजी बढ्ने र सदस्यलाई सेवा सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शनिवार कार्यक्षेत्र अन्तर्गत ५ वटा इलाका खलंगाको प्यूठान उद्योग वाणिज्य संघ, विजुवारको मुक्ति मा.वि. रातामाटा, नयाँगाउँको भवानिश्वरी आधारभूत विद्यालय जस्पुर, धुवाङको वाल विकास आधारभूत विद्यालय कैरन र खैरा इलाको भुवनेश्वरी मा.वि. खैरामा सम्पन्न भएको विशेष साधारण सभाबाट चयन हुनुभएका प्रनितिधि तथा सल्लाहकार र सञ्चालकबाट निर्णय प्रमाणित भएको हो । फूलवारी साकोसले गत असोजमा २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।
फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानका अध्यक्ष भोज बहादुर वस्नेतको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहन सुवेदी र सहजिकरण व्यवस्थापक प्रकास वैद्यको रहेको थियो ।