> स्थानीय सरकार > सारीका घरघरमा खानेपानी धारा


सारीका घरघरमा खानेपानी धारा

प्युठान । एक वर्ष हुन लाग्यो खानेपानीको दु:ख हटेको । घरमै खानेपानीको धारा जडान भएपछि अहिले पानीको दु:ख छैन । स्वर्गद्वारी नगरपालिका–५ सरोजाकी सीता नेपालीलाई अहिले खानेपानीका लागि लुङ्ग्री खोला जानु पर्दैन । “कहिले रणखोला जान्थिम, कहिले गाँढ (लुङ्ग्री खोला)” उहाँले भन्नुभयो, “अहिले घरमै धारा भएपछि सजिलो भएको छ ।”

 

यहाँका सरोजा, दमार, खोलाखेत वस्तीमा पानीको धेरै समस्या थियो । पानीको जोहो गर्नकै लागि धेरै समय लाग्थ्यो । पानीको समस्याले गर्दा सरसफाई, गाईबस्तु पाल्न र तरकारी खेती गर्नबाट समेत स्थानीय बञ्चित थिए । “पहिलेको सार्वजनिक धाराको पानी सवैलाई पुग्दैनथ्यो,” दमारकी यामी राउतले भन्नुभयो, “एक गाग्री पानी पनि भर्न पाईदैनथ्यो ।” अहिले घरमै खानेपानीको सुविधा छ ।

फोटो क्याप्सन : घरमै धारा जडान हुँदा हर्षित स्थानीय यामी राउत ।

घरघरमा खानेपानी आएपछि स्थानीय खुशी छन् । घरमै धारा भएपछि घरायसी काममा सहजता थपिएको सरोजाकी संगिता नेपालीको अनुभव छ । “पहिले पानीको साह्रै दु:ख थियो,” उहाँले भन्नुभयो, “अब खोलाको पानी खान परेन ।”
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान मार्फत उपल्लो सारी खानेपानी तथा सरसफाई आयोजना बनेको हो । लुङ्ग्रीखोलाबाट लिफ्ट गरेर पानी वितरण गरिएको छ ।

 

गत चैतदेखी आयोजनाबाट पानी वितरण शुरु भएको आयोजनाका व्यवस्थापक सृजना भण्डारीले बताउनुभयो । उपल्लो सारी, दमार, खोलाखेत र सरोजा वस्तीका ३८३ घरधुरीमा धारा वितरण गरिएको छ । अहिले दैनिक विहान मात्र पानी वितरण गर्ने गरिएको व्यवस्थापक भण्डारीले बताउनुभयो ।

फोटो क्याप्सन : स्वर्गद्वारी नगरपालिका–५ सरोजामा निर्माण भएको खानेपानी धारा

“दश युनिट बराबर मासिक १ सय ४० रुपियाँ शुल्क लिने गरेका छौं”, उहाँले भन्नुभयो, “कम क्षमताको मोटर भएकाले अलि समस्या छ” लिफ्टका लागि विजुली धेरै खपत हुने गरेको भण्डारीले जानकारी दिनुभयो ।

 

वडाका सवै ठाउँमा खानेपानीका योजना अगाडी बढेका छन् । चरोजा खानेपानी आयोजना स्किम २ गायखर्क, तल्लोसारी खानेपानी तथा सरसफाई आयोजना, सिस्नेरी साउनेपानी खानेपानी आयोजना, स्यानिलेक खानेपानी आयोजना, घडेरीखोला डाँडागाउँ खानेपानी आयोजना निर्माणको चरणमा रहेको वडा अध्यक्ष हिरामणी भण्डारीले बताउनुभयो । “यी योजनाबाट सारीका सवै घरमा खानेपानी पुर्‍याउँदै छौं,” उहाँले भन्नुभयो, “योजना निर्माण अन्तिम चरणमा छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *