प्यूठान । स्वर्गद्धारी लाईफकेयर हस्पिटल नविकरण विना सञ्चालन भएको भन्दै सेवा बन्द गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपाले प्रेस विज्ञप्ती जारी गरी ०७४ असार देखि नविकरण विना सेवा दिइरहेको जनाएको छ ।
उक्त विषयमा प्रशासनमा ध्यानाकर्षण गराएपनि कारवाही प्रक्रिया अगाडी नबढाएको भन्दै नेकपाले वैधानिक नहुँदासम्म सेवा रोक्न हस्पिटललाई आग्रह गरेको छ ।
नविकरण नहुनु राज्यको कमजोरी ः सञ्चालक
स्वर्गद्धारी लाईफकेयर हस्पिटलका सञ्चालक रेशम केसीले राज्यको कमजोरीका कारण हस्पिटल नविकरण हुन नसकिएको बताउनुभएको छ ।
विगतमा जिल्ला स्वास्थ्य कार्यालयबाट नियमित नविकरण हुँदै आएको र पछि प्यूठान नगरपालिकालाई नविकरणको जिम्मा दिएपनि नगरपालिकाले कार्यविधि नबनाएको भन्दै नविकरण नभएको उहाँले प्यूठानसमाचारलाई बताउनुभयो ।
यस विषयमा नगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग छलफल भएको बताउनुभयो । कार्यविधि नबनेकाले नगरपालिकाले प्रदेशमा सिफारिस दिएको र उक्त सिफारिस सहितका कागजात प्रदेशमा पेश गरेको रेशम केसीले जानकारी दिनुभयो ।
उता लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयले नविकरण प्रक्रियामा रहेको जनाएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले हस्ताक्षर गरि उक्त प्रक्रियामा रहेको सिफारिस पत्र अस्पताललाई दिनुभएको छ ।