प्यूठान । नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनको बन्द शत्रमा पार्टी अध्यक्ष तुल्सीराम शर्माले प्रस्तुत गर्नुभएको राजनैतिक तथा सांगठनिक प्रतिवेदन पारित भएको छ ।
अध्यक्ष शर्माले प्रस्तुत गर्नुभएको राजनैतिक तथा सांगठनिक प्रतिवेदनमा बन्द शत्रका सहभागिले लिखित तथा मौखिक रुपमा सुझाव, सल्लाहलाई थप गरि परिमार्जन सहित पारित गरिएको हो ।
त्यसैगरि आर्थिक विभाग प्रमुख माधव शर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत बन्द शत्रले पारित गरेको छ ।
नेतृत्व चयनमा ढिलाई
नेकपा एमाले प्यूठानको नवौं अधिवेशनको सवै प्रक्रिया पुरा भएपनि नेतृत्व चयनमा ढिलाई भएको छ । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमतिका लागि छलफल चलिरहदा नेतृत्व चयनमा ढिलाई भएको एमाले स्रोतले जनाएको छ ।
निर्वाचन प्रक्रिया समेत अगाडी बढिसकेको छ । त्यसका लागि नेत्र बहादुर रोकायको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । जसले निर्वाचनको काम अगाडी बढाएको छ ।
प्यूठान समाचारलाई प्राप्त जानकारी अनुसार अध्यक्ष पदका लागि विजय विराज विष्ट, मधुर शर्मा, नेहरसिंह केसी र अजय सिंहले मनोनयन दर्ता गराएको बुझिएको छ । त्यसैगरि उपाध्यक्षमा झग बहादुर विक, मोहन जिसी, रामप्रसाद श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।
सचिवमा माधव शर्मा र नेगनसिंह कुँवरले मनोनयन दर्ता गराउनुभएको छ । उप सचिवमा श्रीधर रोका र दिपा पौडेलले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन मण्डलले उम्मेदवारको नामावली भने प्रकाशन गरेको छैन ।