प्यूठान । जिल्लाको दुर्गम मानिने ऐरावती गाउँपालिका-१ सिर्सेनीमा स्थानीयले होमस्टे सञ्चालनको तयारी थालेका छन् । गाउँलाई आयआर्जनको माध्ययममा जोड्नका लागि स्थानीयले होमस्टे सञ्चालनको लागि काम अघि बढाएका हुन् ।
होमस्टे सञ्चालनका लागि दर्ता प्रक्रियामा रहेको अध्यक्ष रिता सारुमगरले बताउनुभयो । “अहिले गाउँको ९ वटा घरबाट शुरु गर्ने योजना बनाएका छौं,” उहाँले भन्नुभयो, “गाउँमा छलफल गर्दा उपयुक्त देखिएका घर छनौट गरिएको हो ।”
सिर्सेनी स्वावलम्वन समुहमा आवद्ध सदस्यले होमस्टेको योजना अघि बढाएका हुन् । अहिले छनौट भएका ९ वटा घरमा कोठा व्यवस्थापनको काम भएको छ । “कोठामा आवश्यक सामाग्री व्यवस्थापन गर्दैछौं,” अध्यक्ष रिता मगरले भन्नुभयो,“छिटै सञ्चालन गर्ने योजनामा छौं ।”
गाउँमा होमस्टे सञ्चालन भएपछि गाउँमा आयआर्जनको बाटो खुल्ने स्थानीय नविना गुरुङले बताउनुभयो । गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुको बजारीकरणमा समेत होमस्टेले सघाउने उहाँको अपेक्षा छ । डाँडामा अवस्थित भएकाले गर्मीको समयमा अझ बढी उपयुक्त हुने गुरुङले बताउनुभयो ।
सिर्सेनीमा ८६ घर छन् । जहाँ गुरुङ समुदायको बाहुल्यता छ । गुरुङ भाषा बोल्ने गरिन्छ । नजिकै रहेको कुटिलेकबाट हिमाल र तराईको दृश्यावलोकन गर्न सकिने अध्यक्ष रिता सारुमगरले बताउनुभयो । “गुरुङहरुको संस्कृति हेर्न पनि पाइन्छ,” उहाँले भन्नुभयो,“त्यसका लागि कल्चर हाउस बनाउने योजना पनि छ ।”
भवन बनाउनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको अध्यक्ष सारुमगरले बताउनुभयो । होमस्टेको तयारीसँगै अन्य व्यवस्थापनका लागि कालिका विकास केन्द्र नेपाल/स्ट्रोम फाउण्डेशनले समेत सहयोग गरेको छ । कार्यक्रमले समुहका सदस्यलाई अवलोकन भ्रमणका लागि सुर्खेतको आफर, बर्दियाको डल्ले र कञ्चनपुरको राना होमस्टेमा लगेको अध्यक्ष सारुमगरले बताउनुभयो ।