प्यूठान । श्रमजीवी पत्रकारहरुको श्रम समस्या हेर्न र सहजीकरण गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वद्धन विभागको बैठकले श्रम डेस्क स्थापना गर्ने निणर्य गरेको हो ।
विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा नदिएका श्रमजीवी पत्रकारहरुको समस्या तत्काल समाधान गर्न सम्वन्धित सञ्चार गृहलाई पुनः आग्रह गर्ने निणर्य गरेको छ । महासंघले सेवासुविधा नदिने सञ्चारमाध्यममा कालो ब्यानर सहित धर्ना दिने निणर्य गरेको छ ।
श्रम समस्या समाधान गर्न अटेर गर्ने सञ्चार प्रतिष्ठानमा महासंघले दवावमूलक कार्यक्रम गर्ने, कालोसूची तयार गरी सार्वजनिक गर्ने र आवश्यक कानुनी लडाईलाई समेत अवलम्बन गर्ने बैठकले निणर्य गरेको छ ।
सहुलियतपूणर् कर्जाको दुरुपयोग
नेपाल पत्रकार महासंघको पहलमा सञ्चारमाध्यमहरुले प्राप्त गरेको कोभिड सहुलियतपूणर् कर्जाको सही सदुपयोग नभएको ठहर गरेको छ । राज्यबाट सहुलियतपूणर् कर्जा लिएपनि पत्रकारलाई दिनुपर्ने सेवा सुविधा नदिएको महासंघको भनाई छ ।
उक्त विषयमा अनुगमनका लागि नेपाल सरकार अर्थ मन्त्रालयलार्य आग्रह सहित ध्यानाकर्षणपत्र बुझाउने बैठकले निणर्य गरेको छ । महासंघले पनि उक्त विषयमा अनुगमन गर्ने जनाएको छ ।






