> आर्थिक/बिकास > ऋण सापटी गरेर बाख्रापालन, प्रतिफल कुर्दै


ऋण सापटी गरेर बाख्रापालन, प्रतिफल कुर्दै

प्यूठान । ऋण, सापटी गरेर गाउँमै स्वरोजगार हुने उदेश्यले प्रेम पुनले गाउँमै बाख्रापालन व्यवसाय गर्नुभएको छ । ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुने (कुम्री)मा दुई वर्ष अघि शुरु गरेको बाख्रापालनले व्यावसायिक सफलता लिन थालेको हो ।

 

राम्रीथुम कृषि तथा पशुपालन फर्म दर्ता गरेर पुनले व्यवसाय अगाडी बढाउनुभएको हो । अहिलेसम्म व्यवसायमा ४५ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ । “ऋण, सापटी गरेर ४५ लाख लगानी गरेको छु,” उहाँले भन्नुभयो, “१५ वटा बाख्राबाट शुरु गरेको थिए, अहिले ४० वटा पुगेका छन् ।”

सशस्त्र प्रहरीको हवलदारबाट निवृत्त भएपछि गाउँमै स्वरोजगार हुने उदेश्यले बाख्रापालन व्यवसाय थालेको पुनले बताउनुभयो । “जागिरकै शिलशिलामा बन्दीपुरको बाख्रा फर्मबाट प्रभावित भएको थिए,” उहाँले भन्नुभयो, “रिटार्यड भएपछि व्यवसायमा लागे ।”

 

एकवर्षभित्र एक सय वटा बाख्रा पुग्ने उहाँको अपेक्षा छ । पुनको फर्मममा स्थानीय र बोयर क्रस जातका बाख्रा छन् । ३८ वर्षीय पुन आफै बा्रखाको हेरचाहमा खटिनुहुन्छ । श्रीमती र दुई छोराले पनि सघाउने गर्दछन् । बाख्राका लागि आवश्यक पर्ने घाँसको जोहो गर्न झण्डै ४५ रोपानी क्षेत्रफलमा घाँस खेती गर्नुभएको छ । “घाँस प्रशस्त छ, एकसय बाख्रा सजिलै पाल्न सकिन्छ ।”उहाँले भन्नुभयो ।

व्यवसाय सम्वन्धी ज्ञानका लागि उहाँले ३ महिने तालिम लिनुभएको छ । साथै विभिन्न फार्मको अवलोकन समेत गरेकोले सहज भएको पुनको अनुभव छ । हालसम्म दुई लाख २५ हजार रुपियाँ बराबरको ९ वटा खसीबोका विक्री गरेको उहाँले बताउनुभयो । “शुरुको ३ वर्ष आम्दानी हुँदैन,” पुन भन्नुहुन्छ,“त्यसपछि नियमित रुपमा आम्दानी हुन्छ ।”