प्यूठान, १५ मंसिर । मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि यहाँका स्थानीयले निशुल्क जग्गा प्रदान गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई ६ रोपनी जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी शिवलाल र कृष्णबहादुर शाही दुई दाजुभाईले जग्गा उपलब्ध गराउनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले छिट्टै कार्यपालिकाबाट निणर्य गराई आवश्यक बजेट व्यवस्थापनका लागि मन्त्रालयमा अनुरोध गर्ने बताउनुभयो । भवनको डीपीआर निर्माण कार्य समेत प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो ।
जग्गादाता र जग्गा प्राप्तिका लागि सहयोग गर्ने सबैलाई गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले धन्यवाद ज्ञापन गर्नुभयो ।
उपलब्ध गराईएको जग्गा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रसँगै रहेकोछ ।
कार्यक्रममा जग्गा प्राप्तका लागि सहजिकरण गर्ने काशिपानी सामुदायिक वन उपभोक्ता समिति र रजिष्ट्रेशन पासमा निशुल्क सहयोग गर्ने बोधिप्रसाद पोख्रेललाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै राजनीतिक दलका प्रतिनिधिहरुले ढिलै भएपनि जग्गा प्राप्तको काम भएकाले तत्काल भवन निर्माणका लागि पहल गर्न गाउँपालिकालाई सुझाव दिएका थिए ।
