प्यूठान। तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेर नेतृत्वको सरकारले ल्याएका विकास योजनाहरुलाई अहिलेको लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन गर्दै ल्याएको विकास योजना कार्यकर्ता वितरणमुखी भएको आरोप लागेको छ ।
जनताको आवश्यकता अनुसारको योजनालाई कटौती गरी नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई सोझै अनुदान वितरण गर्ने योजना ल्याएको भन्दै स्थानीय आपत्ति जनाएका छन् । विशेषगरी माण्डवी गाउँपालिका वडा नं. २ गोलबाङ्ग र वडा नं. ३ आपचौरमा खानेपानी योजना कटौती गरी पार्टी प्यूठान ईन्चार्जको व्यक्तिगत बारिमा कुलो बनाउने योजना ल्याईएको छ ।
सडक तथा खानेपानी योजनाहरुलाई हटाएर पार्टी ईन्चार्ज नारयण अधिकारको व्यक्तिगत बारीमा सिंचाई कुलोको लागि ८ लाख, पार्टी नेता छविलाल पुनको सिद्धथान बाख्रा फर्मलाई सोझै ५ लाखको योजना अहिलेको प्रदेश सरकारले अघि सारेको छ ।
यसअघि प्रदेश सरकारबाट प्राप्त ससर्त ८० लाख बजेटबाट कुमालटार रातापानी मुर्कुटी सडकका लागि ४० लाख र उपल्लो तिराम घुर्किचौर बायखोला सडक, गाउँपालिकादेखि जस्पुर धनचौर सडक, गोलवाङ अधुरो खानेपानी योजना, आँपचौर अधरो खानेपानी योजनाका लागि १० लाख रुपैंया बजेट विनियोजन भएको थियो ।
