> आर्थिक > प्यूठानमा बर्षाले धानबालीमा क्षति


प्यूठानमा बर्षाले धानबालीमा क्षति

अनुज पछाई

प्यूठान – प्यूठानका किसानले लगाएको धानमा ठूलो नोक्सानी भएको छ । हिजो आईतबार देखि परेको पानी र हावाले काटिसकेका धान खेतमै डुबेका छन् ।

बर्षाले खेतमा भिजेको धान । तस्बिर : अनुज पछाई

लगातारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुगेको किसानले बताएका छन्। प्यूठान नगरपालिका वडा नम्बर ३ का बन्धु सुनारले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको जानकारी दिनुभयो । बर्ष भरी खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको सुनारले बताउनुभयो।

 

बर्षाले खेतमा भिजेको धान । तस्बिर : अनुज पछाई

खेतमै डुबेको धान अब उम्रने चिन्ता बढेको छ । समयमै धान उठाउन नपाउँदा उत्पादन भएको पनि नोक्सानी भएको छ । भिजेको धान कुटाई गर्दा काटिने ,कनिका पर्ने, स्वाद गनाउने, पराल पनि बिग्रने हुदा धान तथा परालको मूल्य नपाउने प्यूठान नगरपालिका वडा नम्बर ४ बिजुवारका किसान केशब प्रसाद भण्डारीलाई चिन्ता छ ।

बर्षाले खेतमा भिजेको धान । तस्बिर : अनुज पछाई

लगातारको झरीले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

प्यूठान जिल्लाको झिमरुक फाटमा धानको उत्पादन धेरै हुने भएपनि यो वर्ष उत्पादन भन्दा नोक्सानी धेरै हुने देखिएको अगुवा किसानहरू बताउँछन् । पानी अझै केही दिन पर्ने सम्भावना रहेकाले धानमा नोक्सानी हुने क्रम बढ्ने कृषि विज्ञहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *