प्यूठान, २६ साउन । वर्षभरी दिवंगत भएका व्यक्तिको सम्झनामा सामुहिक श्रदाञ्जली कार्यक्रम गरिने भएको छ ।
खलंगा सरोकार समुहको आयोजना तथा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहयोगमा यहि भदौ ५ गते वर्षभरी दिवंगत भएकाहरुको सम्झनामा सामुहिक श्रदाञ्जली कार्यक्रम गर्न लागिएको हो ।
सदरमुकाम खलंगा स्थित पार्टी चोकमा साँझ ६ बजे कार्यक्रम गर्ने तय भएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्यूठानमा जात्राको तयारी
एक वर्षभित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा प्रत्येक वर्षको जनै पूणर्िमाका दिन र त्यसको भोलिपल्ट गरिने गाइजात्रा/ताराली/तायमचा कसरी सञ्चालन गर्ने विषयमा खलंगा सरोकार समुहले छलफल अघि बढाएको छ ।
नेवारी समुदायको परम्परागत रुपमा चल्दै आएको जात्रा कोभिड-१९ का कारण गतवर्ष समेत प्रभावित भएको अवस्थामा समुहले यस वर्ष कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भनेर छलफल अघि बढाएको हो ।
जात्राको विषयमा एक चरणको छलफल भइसकेको र जात्रा सञ्चालन कसरी गर्ने र प्रशासनसँग स्विकृति लिने विषयमा भाद्र ३ गते जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्ने निणर्य भएको श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसका लागि मल्लरानी गाउँपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेवाः खल लगायतसँग समन्वय र छलफल भइरहेको उहाँको भनाई छ ।
