> साहित्य सृजना > के तिमीलाई लाज लाग्दैन र ?


के तिमीलाई लाज लाग्दैन र ?

ध्रुब गिरी

साहसी पूर्खाको वलिदानीलाई कुल्चेर

जन्मभूमिमा विदेशी सेना परेड खेल्दा

निर्मला पन्तजस्ता अवोध चेलीका हत्यारा

तिम्रै वरिपरि घुमीरहँदा

दार्चुलाका धामीलाई तुइन काटेर

जिउँदै नदीमा हेलिदिँदा

अमुक भएर त्यो कुर्सीमा बसिरहन

के तिमीलाई लाज लाग्दैन र ?

 

 

       यही मातृभूमिको मातृवात्सल्यमा हुर्कीरहँदा

       जन्मभूमिका अंशहरु पराइले लुछिरहँदा

       सितल सरिताका निर्मल जलमा वैदिशिक शक्ति हावी हुँदा

       स्वाभिमानका जङ्गे पिल्लरहरु रातारात वसाइ सर्दा

       विनाकारण सीमावासी नेपाली भारतिय सुरक्षादस्ताबाट कुटिँदा

       कानुन विपरित वनाइएका बाँधका कारण नेपाली जन डुवानमा पर्दा

       भष्मासुरको अभिनयमा आसनसहित राज गर्न सक्ने

       के तिमीलाई लाज लाग्दैन र ?

 

 

हो तिमीलाई गर्व लाग्छ होला

वौद्यिक जनशक्ति डिभि पिआर का नाममा विदेश पठाउदा

केही गरौँ भन्ने आँट र साहस वोकेका नौजवानहरु

सस्तो श्रम बेच्न लामबद्ध भइ तयारी गरेको देख्दा

तिमीलाई खुसीको सुखानुभूति हुन्छ होला

किनकी तिम्रो त्यो कालो औकातको विरोध गर्न सक्ने तिनै त हुन्

भएका उद्योग निरन्तर वन्द गर्दै जाने उत्पादन घटाउँदै जाने

आत्मनिर्भरता शून्यतिर लैजादै, परनिर्भरता चुलाउदै लैजाने

वुख्याचाको भेषमा विराजमान भैरहन मन गर्ने शासक

के तिमीलाई लाज लाग्दैन र ?

 

 

       चुनावताका स्वर्णिम कल्पनाका ललिपप बाँड्दै

       सामदाम दण्डभेदको सहाराबाट जनमत प्राप्त गरी

       जनभावना र जनमतको अपमान गर्दै व्यक्ति स्वार्थमा लिप्त बन्दै

       हेर्न र सुन्न पनि लाज लाग्ने तिम्रा बहस र छलफलहरु

       राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय बेइज्यतीका सवाल वने

       खसी बोका रागा कुखुरा जस्तै किन्ने र किनिने, बेच्ने र बेचिने वस्तु जस्तै

       अनि म जनप्रतिनिधि हुँ भनीरहन

       के तिमीलाई लाज लाग्दैन र ?