स्थानीय सरकारराष्ट्रियसमाज

प्यूठानका विपन्न परिवारले पाए शौचालय सहितको नयाँ घर

प्युठान, ५ साउन । मल्लरानी गाउँपालिका वडा नम्वर ३ बर्बोटकी ६३ वर्षीया डल्ली परियारले झण्डै दुई दशक एक्लै भत्किएको र चुहिने घरमा बिताउनुभयो ।

श्रीमान, दुई छोरा, एक छोरीको मृत्युपछि बेसहारा बन्नुभएकी परियार छिमेकी र आफन्तको सहारामा जीवन विताउँदै आउनुभएको हो ।

डल्ली परियार र उहाँकाे नयाँ घर

‘घर छाउन ९ नापो खर लाग्ने गथ्र्यो,’ उहाँले भन्नुभयो, ‘त्यहि घर छाउन पनि नसकेपछि विस्तारै चुहिँदै, भत्किदै गयो ।’ कहिले आफन्तकोमा त कहिले भत्किएकै घरमा बस्दै आउनुभएकी परियारले अहिले भने शौचालय सहितको दुई कोठे टिनले छाएको घर पाउनुभएको छ । घर पाउदा ‘स्वर्ग’को अनुभुति भएको उहाँले प्रतिकृया दिनुभयो । ‘घर नभएको मलाई घर पाउँदा स्वर्ग यहि जस्तै लागेको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो ।

कमला विक र उहाँकाे नया घर

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत मल्लरानी गाउँपालिकाले डल्ली परियार जस्तै सात जना व्यक्तिको शौचालय सहितको घर बनाइदिएको छ । घर भत्किएर बेसहारा भएका मल्लरानी गाउँपालिका वडा नम्वर ४ लाम्बेलाका कमला वि.क.ले पनि उक्त सहयोग मार्फत नयाँ घर बनाउनुभएको छ ।

कमला विक

कमलाले बाल आश्रममा बसेर १२ कक्षा सम्मको अध्ययन गर्नुभएको हो । ‘हाम्रो घर थिएन, अहिले नयाँ घर बनाएको छु,’ उहाँले भन्नुभयो, ‘भाई बहिनी पनि पढ्दैछन् अब घरमै बसेर केहि आयआर्जन गर्ने सोंच बनाएको छु ।’

 

प्रति व्यक्ति एक लाख ७७ हजार रुपियाँ रकम कार्यक्रमबाट सहयोग भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । गरीव, विपन्न र असहायलाई नयाँ घर बनाउन र मर्मत गर्न कार्यक्रमबाट सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button