प्यूठान, ४ साउन । भौगोलिक रुपमा जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनिने गौमुखी गाउँपालिकाले आफ्ना पालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
पालिकाको दशौ गाउँसभाबाट पालिका भित्रका गरीव तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर, नर्स र इन्जिनियर पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने नीति पारीत गरेको हो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले शिक्षाको क्षेत्रमा पालिका पछि परेको भन्दै यस्तो योजना अगाडी बढाएको बताउनुभयो । “अहिले १५ लाख रुपियाँ बजेट विनियोजन प्रस्ताव गरेका छौं,” उहाँले भन्नुभयो, “विद्यार्थी सङ्ख्याको आधारमा थप रकम विनियोजन गर्ने योजना रहेको छौं ।” छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले कम्तीमा दुई वर्ष गाउँपालिकामा काम गर्नुपर्ने लगायतका प्रावधान सहितको कार्यविधि बनाइने समेत उहाँले बताउनुभयो ।
पालिकामा कोभिड अस्पताल सञ्चालन गर्दा लामो समयसम्म डाक्टर नपाएको उदाहरण सुनाउदै अध्यक्ष गिरीले स्थानीय जनशक्ति नहुँदा समेत काम गर्न समस्या हुने बताउनुहुन्छ । डाक्टर सहितको सेवा सुविधा सहित कोभिड अस्पताल सञ्चालन गर्न चाहेपनि लामो समय डाक्टर पाउनै समस्या भएको उहाँको अनुभव छ ।
पालिकामा आर्थिक रुपमा कमजोर घरपरिवार धेरै रहेको र उच्च शिक्षा अध्ययन गराउन नसक्ने भएकाले पालिकाले यस्ता कार्यक्रम ल्याउने गरेको छ । गाउँपालिकाले विगत वर्षदेखि शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिन खोजेको छ । यसअघि पनि लोकसेवा कक्षा सञ्चालन गरेको थियो ।
सरकारी सेवामा पालिका भित्रका कर्मचारी कम हुँदा कर्मचारी समायोजनमा समेत गाउँपालिकामा कर्मचारी नआएको अध्यक्ष गिरीले बताउनुभयो । “समायोजन भएर अन्यत्र जाने कर्मचारी गए,” उहाँले भन्नुभयो, ”यस गाउँपालिकामा आउने कर्मचारी भएनन् । जसले गर्दा पालिकाले करारमा कर्मचारी राखेर सेवा प्रवाह दिनुपरेको छ ।”