प्यूठान, ३० असार । प्यूठानका दुई वटा स्थानीय तहले तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेका छन् ।
आर्थिक वर्ष २०७७/२०७८ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकाले गरेका हुन् ।
बुधबार जिल्ला समन्वय समितिको सभाहलमा भएको मल्लरानी गाउँपालिकाको सार्वजनिक सुनुवाईमा उठेका सवालको जवाफ गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले दिनुभएको हो । बर्हिगमन अभिमत पत्र र नागरिक प्रतिवेदन पत्र मार्फत प्राप्त विभिन्न विषयमा प्रश्न, जिज्ञासा र सुझाव प्राप्त भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख पदम बहादुर थापाले योजना निर्माणसँगै सही कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेट समयमै र सही कार्यान्वयन गर्न सकेमा विकास निर्माण प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका बुद्ध बहादुर जिसी, नेपाली कांग्रेसका राम बहादुर थापाले गाउँपालिकालाई सुदृढ बनाउन सरोेकारवाला निकायसँग समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले गाउँपालिकाले वार्षिक रुपमा गरेका कार्यक्रमहरुको प्रस्तुतीकरण समेत गर्नुभएको थियो । कार्यक्रममा युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालका अध्यक्ष विजयसिंह भारतीले सार्वजनिक सुनुवाईको पूर्व प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष अमरध्वज रानाको अध्यक्षता, उपाध्यक्ष सरिता जिसीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।
यसैबीच, झिमरुक गाउँपालिकाले बुधबार सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिका बहादुर जिसीको स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रेडियो माण्डवीको समन्वयमा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ प्यूठानका कोषाध्यक्ष प्रज्वल पहाडीले गर्नुभएको थियो ।