प्यूठान, १९ असार । गौमुखी गाउँपालिका वडा नं. ३ रजवारका किसानले उत्पादन गरेको तरकारी विक्रि भएको छैन । तिखाचुली स्मार्ट कृषि गाऊँमा आवद्ध किसानहरुले उत्पादन गरेको सिमिले बजार नपाएको हो ।

बजार खोल्दै व्यापारिक केन्द्र बाग्दुला ल्याउँदा पनि विक्रि नभएको स्मार्ट कृषि गाऊँका संयोजक डोरबहादुर पुनले बताउनुभयो । ‘बजारमा ७० रुपैंया किलोमा व्यापार भैरहेको छ ।’ ,उहाँले भन्नुभयो, ‘३५/४० रुपैंयामा विक्रि गर्न खोज्दा पनि विक्रि भएन ।’ करिव ५ सय केजि सिमि मध्ये अन्दाजी ३ सय ५० केजि सिमि अहिले बाग्दुलाको एक होटलमा छ ।
शुक्रवार बाग्दुला आई पुगेको सिमि विक्रि नभएपछि संयोजक पुनलाई चिन्ता लागेको छ । ‘किसानहरुले के जवाफ दिने हो ।’ ,उहाँले भन्नुभयो, ‘गाडिको भाडा पनि उठेन ।’
लुम्बिनी प्रदेशको स्मार्ट कृषि गाऊँ कार्यक्रम अन्तरगत यहाँका किसानहरुले तरकारी खेती गर्दै आएका छन् । यसै आर्थिक वर्षदेखि संचालन भएको यस कार्यक्रममा ६३ जना किसान आवद्ध छन् ।
