> स्थानीय सरकार > स्वर्गद्वारीमा ३ सय ४८ परिवारले पाए राहत


स्वर्गद्वारीमा ३ सय ४८ परिवारले पाए राहत

झइन्द्र भण्डारी
प्यूठान , २९ चैत ।
स्वर्गद्वारी नगरपालिका प्यूठानले लक डाउनका कारण खाद्यान्न अभाव भएका ३ सय ४८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनुभयो ।

४ जनासम्म सदस्य संख्या रहेको परिवारलाई २५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको परिवारमा प्रति व्यक्ति ५ केजीको दरले थप चामल उपलब्ध गराईएको छ ।

यस अनुसार वडा नं. १ मा ६७ , वडा नं. २ मा ३७, वडा नं. ३ मा २४, वडा नं. ४ मा २२ , वडा नं. ५ मा १९, वडा नं. ६ मा ७२ , वडा नं. ७ मा ३७, वडा नं. ८ मा २६ र वडा नम्बर ९ मा ४४ परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

वडाको सिफारिसमा मापदण्ड भित्र परेका परिवारलाई राहत सामाग्री दिइएको हो । यसबाट १ हजार ४ सय १९ जना सदस्य लाभान्वित भएको नगर प्रमुखका स्वकीय सचिव तथा खाद्यान्न वितरण समितिका सदस्य रमेश पोख्रेलले बताउनुभयो ।

खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत विपन्न , श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ मा रहि वितरण गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

चामलसँगै १/२ लिटर तेल, १ केजि दाल, १ केजि नुन, १ केजि तरकारी स्वरूप सोयाबिन उपलब्ध गराईएको छ ।

एकद्वार प्रणाली अन्तर्गत प्याकेजमा राहत वितरण गर्ने कार्यविधि अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । बस्तीबस्तीमा नगरबासीको घर दैलोमा पुगेर समस्याको पहिचान गरि राहत वितरण गरेको वडा नम्बर ६ का वडाअध्यक्ष गिर बहादुर गुरूङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!