प्यूठान, ४ जेठ । प्युठान नगरपालिका–४ विजुवारमा स्थापना भएको चिस्यान केन्द्र(कोल्ड स्टोर) सञ्चालनको जिम्मा नवहातेमाले बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले पाएको छ ।
प्यूठान नगरपालिका र सहकारीबीच सम्झौता भइ जेठ १ गतेदेखि चिस्यान केन्द्र सञ्चालनमा आएको सहकारीले जनाएको छ ।
जिल्लामा दुई वटा चिस्यान केन्द्र
प्युठान नगरपालिका–४ विजुवारमा चिस्यान केन्द्र निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकार र प्युठान नगरपालिकाको साझेदारीमा एक सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्युठान नगरपालिकाको ५९ लाख रुपियाँको लागतमा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिनुभयो ।
चिस्यान केन्द्रमा हाल एक सिजनको प्रति केजी पाँच रुपियाँको दरले शुल्क निर्धारण गरिएको पोख्रेलले बताउनुभयो ।
चिस्यान केन्द्र निर्माणसँगै जिल्लामा उत्पादन हुने कृषिजन्य तथा फलफुलहरुलाई स्टोर गर्न सहज हुनेछ । जिल्लामा हाल प्युठान नगरपालिका र माण्डवी गाउँपालिकामा चिस्यान केन्द्र बनेका छन् । माण्डवी गाउँपालिकामा पनि लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र बनेको हो ।
एक करोड १२ लाख ५८ हजार आठ सय १८ रुपियाँ लागतमा केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । चिस्यान केन्द्र बनेपछि किसानका उत्पादनले राम्रो मुल्य पाउने माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका बताउनुहुन्छ ।
नवहातेमाले बहुउदेश्यीय सहकारी संस्थाले चिस्यान केन्द्रको व्यवस्थापकमा राधा जिसि(९८४४९०९१८५)लाई राखेको छ । तरकारी तथा फलफुलजन्य उपज कोल्ड स्टोरमा राखेर फाइदा उठाउन सहकारीका अध्यक्ष टिकाराम पोख्रेलले कृषकलाई आग्रह गर्नुभएको छ ।