महेश थापा
प्यूठान, २६ फागुन । नौबहिनी गाउँपालिकाले अघिल्लो गाउँसभाबाट विनियोजन गरेका योजनाहरुमा खर्च हुन नसकेको रकम नयाँ योजनामा रकमान्तरण गरेको छ ।
आज सम्पन्न हिउँदे गाउँसभाले यसअघिको गाउँसभाले पारित गरेका योजनाहरु संसोधन तथा रकमान्तरण गरेको हो ।
कोरोना भाइरस तथा अन्य महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण र उपचार कोष, कृषकसँग गाउँसरकार कार्यक्रम लगायत योजनाको रकम रकमान्तर गरिएको हो ।
रकमान्तर तथा संसोधन गरिएको योजनाबाट मोटरबाटो निर्माण, सिंचाई योजना, नदी नियन्त्रण, भवन निर्माण लगायतका योजनालाई बजेट विनियोजन गरिएको छ ।
१ करोड ३२ लाख ६४ हजार रुपियाँ बराबरको योजना संसोधन तथा रकमान्तरण गरिएको हो । गाउँसभाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने समेत निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताउनुभयो ।
