> समाज > एक स्वास्थ्य अवधारणा विषयक गोष्ठी


एक स्वास्थ्य अवधारणा विषयक गोष्ठी

प्यूठान, ७ बैशाख । एक स्वास्थ्य अवधारणा विषयक सरोकारवालाहरु वीच एक दिने गोष्ठी आज खलंगामा सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको आयोजनामा भएको कार्यक्रममा अवधारणाका बारेमा जानकारी गराईएको थियो ।

 

एक स्वास्थ्य (वान हेलथ) जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ र स्वच्छ राख्नको लागि मानिस, पशुपन्छी, वनस्पति र वातावरण बिचको अन्तर सम्बन्धबाट उत्पन्न हुने रोगहरूको पहिचान गर्दै अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्न अन्तर विषयक र बहुपक्षीयरुपमा सहकार्य गर्नुपर्दछ भन्ने एक अवधारणा हो ।

 

यस अवधारणाले जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्य बिच एकआपसमा नीति नियम कानुन र कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरी अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्ने कुरामा जोड दिएको कार्यालय प्रमुख डाक्टर उत्तम आचार्यले बताउनुभयो ।

 

हाल भइरहेका र भविष्यमा हुने मानवीय स्वास्थ्य संकटहरू मानव पशुपन्छी र वातावरण बिचबाटै उत्पन्न हुने र यस्तो महामारी मानव चिकित्साबाट मात्र नियन्त्रण गर्न नसकिने भएकोले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्य बिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा एक स्वास्थ्य अवधारणाले जोड दिन्छ ।

 

विश्व भरी हाल पशुपन्छीबाट उत्पन्न हुने र मानिसमा सर्ने प्यान्डेमिक ईन्फ्लुन्जा, रेबिज, ब्रुसेलोसिस, रिफ्ट भ्याली फेवर आदि रोगहरू मुख्य रहेका छन् । चीनको वुहान प्रान्तबाट सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड १९ चमेरोबाट शुरु भएको बताईन्छ ।

पशुपंक्षीबाट मानव जातिमा शुरु हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले बताउनुभयो । स्वास्थ्य मापदण्डका पोर्टाेकल सवैले पुरा गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालले सरोकारवाला सवैको सक्रियतामा जनचेतनामुलक कार्यक्रम स्थानीय स्तरसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *