> राजनीति > कोभिड र संसद विघटनले विकासको काम हुन सकेन : पौडेल


कोभिड र संसद विघटनले विकासको काम हुन सकेन : पौडेल

प्यूठान । प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पाँच वर्षको अवधिमा जिल्लाको विकासका लागि गर्नुपर्ने काम गर्न नसकिएको बताउनुभएको छ । आज जुम्रीमा भएको पत्रकार भेटघाटमा नेता पौडेलले पाँच वर्षको आफ्नो कार्यकालमा जिल्लाको विकासका लागि काम गर्न नसकेको स्विकार गर्नुभएको हो ।

 

पाँच वर्षको कार्यकालमा कोभिड, आन्दोलन, संसद विघटन लगायतका कारणले विकासलाई गति दिन नसकेको उहाँको भनाई छ । अहिले गठबन्धनबाट उम्मेदवार बन्नुभएका पौडेलले विकासको गतिमा देखिएको गतिरोध हटाउने प्रतिवद्धता जनाउनुभयो ।

उम्मेदवार पौडेलले अघिल्लो पटक मन्त्रीको लागि अफर आएको र पार्टीको एउटा मात्र सांसद भएकाले संसदमा उपस्थिती नहुने भएकाले सरकारमा नगएको बताउनुभयो । उहाँले सरकारमा सहभागी नभएपनि जिल्लाको विसका निर्माणका योजना अघि बढाउन भूमिका खेलेको दावी गर्नुभयो ।

 

अहिले सरकारमा जान पार्टीले नीति खुला गरेको समेत बताउनुभएको छ । अघिल्लो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि सरकारमा सहभागी नहुँदा जिल्लाको विकास निर्माण पछि परेको भन्दै मतदाताले टिप्पणी गरिरहेका बेला उम्मेदवार पौडेलले आगामी निर्वाचनपछि सरकामा जाने संकेत गर्नुभएको हो ।

 

प्रदेश क्षेत्र नम्वर (क) का उम्मेदवार नेकपा (माओवादी केन्द्र)का कृष्ण अधिकारीले यो गठबन्धन चुनावका लागि मात्र नभएर त्यसपछिको जिल्लाको विकासका लागि समेत कायम रहने बताउनुभयो ।

 

प्रदेश क्षेत्र नम्वर (ख)का उम्मेदवार नेपाली कांग्रेसका सरोज थापाले प्यूठानको विकास र समृद्धिका लागि उम्मेदवारी दिएको भन्दै रोजगारी पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

 

जिल्लामा अघिल्लो पटक नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धनबाट पौडेल विजयी हुनुभएको थियो । अहिले जिल्लामा राष्ट्रिय जनमोर्चालाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले साथ दिएका छन् । दुई वटा प्रदेश क्षेत्रमा कांग्रेस र माओवादीले उम्मेदवार बाँडेका छन् । पौडेलको प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का पोलिव्यूरो सदस्य सूर्य थापा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *