प्यूठान, १ वैशाख । प्यूठानका ४ स्थानमा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको छ ।
आज जिल्लाका मल्लरानी गाउँपालिकाकोे खंलगा, प्यूठान नगरपालिकाको विजुवार, स्वर्गद्वारी नगरपालिकाको भिग्री र झिमरुक गाउँपालिकाको मच्छीमा एकैसाथ स्थानिय जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी रोचक सुवेदिले जानकारी दिनुभयो ।
नौवहिनि गाउँपालिका र प्यूठान नगरपालिकाका लागि विजुवारमा, सरुमारानी गाउँपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका लागि भिग्रीमा, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाका लागि मच्छीमा र मल्लरानी गाउँपालिका र ऐरावति गाउँपालिकाका लागि खंलगामा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको हो । गणकको तालिममा लागि सहजीकरण गर्न स्थानिय तहमा जनगणना कार्यालय स्थापना गरिएको सुवेदिले बताउनुभयो ।
कार्यालयले स्थानिय स्तरमा समन्वय तथा गोष्ठी सञ्चालन गर्नेछ । जनगणना सञ्चालनका लागि कार्यालय ३ महिनाका लागि स्थापना गरिएको सुवेदिले बताउनुभयो ।
