> राष्ट्रिय > प्यूठानमा राष्ट्रिय जनगणना २०७८ को तयारी


प्यूठानमा राष्ट्रिय जनगणना २०७८ को तयारी

प्यूठान, १९ चैत । राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जिल्लाका सरोकारवालाले आग्रह गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को सचेतना गोष्ठीमा सहभागी सरोकारवालाले तथ्याङ्क संकलनलाई प्रभावकारी बनाउँदै समग्र जनगणना प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

 

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले अहिले स्थानीय सरकार गठन भएकाले गणकहरुले कमी कमजोरी गर्ने अवस्था नहुने विश्वास व्यक्त गर्नुभयो । प्रविधिको विकास र वडा तहसम्म स्थानीय सरकार रहेकाले सही सूचना र तथ्यांक संकलन हुने उहाँको भनाई छ ।

 

जिल्ला तथ्यांक कार्यालय प्यूठानका प्रमुख जिल्ला जनगणना अधिकारी रोचक सुवेदीले जनगणनाका लागि हालसम्म भएका तयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जेठ २५ देखी असार ८ गतेसम्म १५ दिन तथ्यांक संकलन हुने बताउनुभयो । जिल्लामा चार वटा जनगणना कार्यालय समेत रहने उहाँको भनाई छ । मेरो गणना मेरो सहभागिता भन्ने मुल नारा भएकाले सवैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

 

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जनगणनामा सहभागी हुने गणकहरुलाई प्रभावकारी तालिम दिएर तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय संरचना अनुसार तथ्यांक नहुँदा विकास निर्माणका योजना बनाउन स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मलाई अप्ठ्यारो भएको अवस्थामा जनगणनाले सही तथ्यांक ल्याउने बताउनुभयो । कार्यक्रमको स्वागत सावित्रा पराजुली र सञ्चालन देवी प्रसाद अर्यालले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *