प्यूठान, ५ फागुन । दैनिक बढ्दै गएको आत्महत्या, बालविवाह, लैङ्गिक हिंसा, लागु औषध दुव्र्यसनी लगायतका घटना न्यूनिकरणका लागि जिल्लामा अभियान सञ्चालन भएको छ ।
समाजमा बढ्दै गएका हानिकारक सामाजिक मुल्य मान्यता विरुद्धको अभियान गौमुखी गाउँपालिकाबाट शुरु भएको हो ।
जिल्लाका सवै स्थानीय तहमा अभियान चलाउने उदेश्य सहित गौमुखी गाउँपालिकाबाट कार्यक्रम शुरुवात भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । “कतिपय हाम्रा सामाजिक मुल्य मान्यताले गर्दा यसप्रकारका गतिविधि बढ्दै गएका छन्,” उहाँले भन्नुभयो, “त्यसको न्यूनिकरणका लागि सवै पालिकामा अभियान सञ्चालन हुँदैछ ।”
गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले पालिकाले पालिका स्तरसँगै वडा तहमा समेत कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिनुभयो । गाउँगाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पालिका सकारात्मक भएको बताउँदै सामाजिक चेतना जगाउन अभियानले सहयोग पुग्ने उहाँको भनाई छ ।
जिल्लाका सवै स्थानीय तह अभियान गर्नका लागि सकारात्मक भएको आयोजक संस्था युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालका अध्यक्ष विजयसिंह भारतीले बताउनुभयो । स्थानीय तहको आर्थिक सहयोग, जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका गैर सरकारी निकायहरुसँग सहकार्य गर्दै अभियान अघि बढाइएको उहाँको भनाई छ । कार्यक्रम पालिका स्तरमा, वडा स्तरमा र विद्यालयमा समेत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
