प्यूठान, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै जिल्लामा एकता कमिटी नै गठन भएको छ । पार्टी एकताका लागि दवाव सिर्जना गर्ने भन्दै १०१ सदस्यीय कमिटि गठन भएको हो ।
एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटि गठन गरेको छ । भेलाले पार्टी विभाजनबाट रोक्न दवाव सिर्जना गर्ने निर्णय गरेको सचिव इमानसिंह भारतीले बताउनुभयो । उहाँका अनुसार भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रिय कार्यालय र जिल्ला कार्यालयमा पठाईनेछ ।
“दुवै पक्षका भेला सभाहरुमा नेताहरुको अभिव्यक्तिमा प्रयोग गरिने शब्दहरु पार्टी तथा आम कार्यकर्ताका मनोभावनामा चोट पुग्ने खालका भएकाले दुःख व्यक्त गर्ने र यस्ता शब्द प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेका छौं ।” सचिव भारतीले भन्नुभयो, “पार्टी एकताका आधार पत्र र आचार संहिता तयार गरी हस्तारन्तरण गर्ने योजनामा छौं ।”