प्यूठान, ८ माघ । स्वर्गीय टंकबहादुर विष्ट स्मृति प्रतिष्ठानको कार्यालयको उद्घाटन गरिएको छ । प्यूठान नगरपालिका वडा नं ३ शिवालयमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै नगरप्रमुख कक्षपतिले स्वर्गीय विष्टले जिल्लामा पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । प्यूठान अस्पताल स्थापनामा उहाँको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वर्गीय विष्टको सिकाएको पाठ सिक्न आवश्यक रहेको बताउनुभयो । कार्यालय उद्घाटनका क्रममा स्वर्गीय विष्टका कृतिहरु आफ्नो लगानीमा प्रकाशन गरिदिने नगरप्रमुख कक्षपतिले प्रतिबद्धता जनाउनुभएको छ ।
प्यूठान नगरपालिका वडा नं २ क्वाडीका विष्टको निधन भएको एक वर्ष पुगेको स्मृतिमा कार्यालय उद्घाटन गरिएको प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्टले बताउनुभयो । प्रतिष्ठानको दर्ता भई यस एक वर्षको अवधिमा केही सामाजिक गतिविधि समेत गरेको उहाँले बताउनुभयो । कार्यालय उद्घाटनका क्रममा विभिन्न व्यक्तिहरुले स्वर्गीय विष्टको योगदानका बारेमा चर्चा गरेका थिए ।
पूर्व सहायक गृह मन्त्री समेत रहनुभएका विष्टको गत ०७६ माघ ८ गते ९८ वर्षको उमेरमा निधन भएको थियो । विष्टले जहिल्यै स्वार्थ रहित राजनीति गर्नुपर्नेमा जोड दिदै आउनुभएको थियो ।। स्वर्गीय विष्ट पञ्चायतकालमा गृह सहायक सहित भौतिक पूर्वाधार मन्त्री बन्नुभएको थियो ।
रक्तदान कार्यक्रम
स्वर्गीय टंकबहादुर विष्ट स्मृति प्रतिष्ठानको आयोजनामा कार्यालय उद्घाटनसंगै रक्तदान कार्यक्रम समेत गरिएको छ । प्रतिष्ठान मार्फत वर्षमा २ वटा सामाजिक काम गर्ने नीति अनुसार रक्तदान कार्यक्रम गरिएको अध्यक्ष विष्टले बताउनुभयो । रक्तदान कार्यक्रममा ६ जना सहभागी भई विभिन्न समुहको रगत दान गरेको समेत उहाँले बताउनुभयो ।
विद्यार्थीको निशुल्क दुर्घटना बीमा हुने
स्वर्गीय टंकबहादुर विष्ट स्मृति प्रतिष्ठानको अगुवाईमा रोजबाहिनी फाउण्डेसन काठमाडौं मार्फत विद्यार्थीको निशुल्क दुर्घटना बीमा हुने भएको छ । कार्यालय उद्घाटनका क्रममा फाउण्डेसनका संस्थापक संरक्षक माधवप्रसाद भण्डारीले तीन वटा विद्यालयमा अध्ययनरत विद्यार्थीको दुर्घटना बीमा गर्दिने प्रतिवद्धता जनाउनुभएको हो । प्युठान नगरपालिका वडा नं ३ मा रहेको मुक्ति माध्यामिक विद्यालय, बालमन्दिर प्राथमिक विद्यालय र प्यूठान नगरपालिका वडा नं २ मा रहेको जानकी माध्यामिक विद्यालय चितिखोलामा अध्ययनरत विद्यार्थीको निशुल्क दुर्घटना बीमा हुनेछ । यी तीन विद्यालयका करिब एक हजार ८ सय विद्यार्थीको निशुल्क दुर्घटना बीमा हुने प्रतिष्ठानका अध्यक्ष विष्टले बताउनुभयो ।
