> राजनीति > राष्ट्रिय जनमोर्चाबाट कारबाहीमा परेका वडा अध्यक्ष र सदस्यको पद रिक्त


राष्ट्रिय जनमोर्चाबाट कारबाहीमा परेका वडा अध्यक्ष र सदस्यको पद रिक्त

प्यूठान, ५ माघ । राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर ४ को अध्यक्ष पदमा निर्वाचित तिलक पुन र वडा सदस्य पदमा निर्वाचित तिलबहादुर फगामीको निर्वाचित पद रिक्त भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको माग बमोजिम दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले प्रेस वक्तव्य मार्फत ढोरपाटन नगरपालिका सहित सम्बन्धित निकायहरुले त्यसको कार्यान्वयनको लागि र आम रुपमा जानकारी गराएको जनाएको छ ।

‘तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टी कै साथीहरुसँग झगडा गर्ने र कुटपीट गर्ने क्रियाकलापहरु गर्दै आएका थिए ।’ वक्तव्यमा भनिएको छ, ‘गत वर्षको कार्तिक महिनामा दलबल सहित राष्ट्रिय जनमोर्चाकै साथीहरुलाई आक्रमण गरी कुटपीट गरे । उक्त घटनामा स्वयं तिलक पुन पनि घाइते भएका थिए । उक्त घटनाको छानवीन गर्दा उनीहरु दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो । सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरुमा सुधार आएन । गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका– ४ खुंगाका जनतालाई वितरण गर्न लादै गरेका खाद्य राहत सामाग्री खोसेर खोलामा फ्याँकिएको थियो भने बिरामीलाई उपचार गर्नको लागि वितरण गर्न लगेको रकम पनि खोसिएको थियो । उक्त घटनाको छानवीन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाईमा उक्त घटना घटेको पाइयो । पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र जनहित विरोधी घटना भनि उनीहरुलाई पार्टी सदस्य समेतबाट अनिश्चितकालका लागि निष्कासन गर्ने र उनीहरुको निर्वाचित पद समेत रिक्त गर्ने निर्णय गरेको थियो ।’

निर्वाचन आयोगको निर्णयले जनहित विरुद्ध र अपराधपूर्ण कार्यमा संलग्न तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पार्टी त्याग गरेको वा उक्त पार्टीको सदस्य नरहेको अवस्थामा निर्वाचित पद रिक्त हुने नजिर स्थापित भएको वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *