रमेश गिरी
प्यूठान, २६ कात्तिक । प्यूठान नगरपालिका वडा न.१० मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । आज प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्यद्वारा भवनको शिलान्यास गरिएको हो ।
प्यूठान नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य अनुरूप प्यूठान नगरपालिकाको सबैभन्दा विकट क्षेत्र पातिहाल्नामा ३२ लाख ४० हजार बराबरको लागतमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण हुन लागेको हो । योसँगै प्यूठान नगरपालिकाका सबैवडाहरूमा आफ्नै स्वामित्वमा भवन हुनेछन् ।
भवनको शिलान्यास गर्दै नगरउपप्रमुख शान्ता आचार्यले नगरवासीहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने काम पहिला देखि नै भएतापनि नगरपालिकाकै लागतमा बनेको भवनबाट सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागेको कुरा बताउनु भएको थियो । सेवा केन्द्रको भवन तिव्र गतिमा गुणस्तरीय सामग्रीको प्रयोग गरी निर्माण सम्पन्न गर्न सरोकावालासँग आग्रह गर्नुभयो ।
